राप्रपाको मेलमिलाप प्रयास कि ‘फुटेको हाँडी’ जोड्ने कसरत ?

राप्रपाको मेलमिलाप प्रयास कि ‘फुटेको हाँडी’ जोड्ने कसरत ?


एकाएक फुटको संघारमा पुगेको राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र असन्तुष्टि मेटाउने प्रयत्न शुरु भएको छ । असन्तुष्ट पक्षको भावनालाई समेटेर आन्तरिक द्वन्द्व व्यवस्थापन गर्ने तयारी चलिरहेको सो पार्टीका नेताहरुले दाबी गरेका छन् । देशभरका कार्यकर्ताले संस्थापन तथा असन्तुष्ट दुवै पक्षलाई पार्टी एक ढिक्का कायम गर्न दिएको तीव्र दबाब दिएका कारण दुवै पक्ष लचिलो भएको ती नेताहरुको दाबी छ ।

संविधान संशोधन र सरकारमा सहभागी हुने विषयमा दुवै पक्षको फरक विचार भएकाले अहिलेको समस्या उत्पन्न भए पनि अब दुवै पक्षले आआफ्नो अडान त्यागेर लचिलो हुन तयार भएपछि विवाद उत्कर्षतर्फ नभई समझदारीतर्फ मोडिएको राप्रपा प्रवक्ता भुवन पाठकले बताए । उनका अनुसार
देशभरका कार्यकर्ताको परिश्रमले निर्माण भएको पार्टीको एकता कुनै पनि हालतमा टुट्न दिन नहुने समझका साथ दुवै पक्षको त्रुटिलाई मूल्याङ्कन गरी नयाँ समझदारी कायम गराउने गृहकार्य भइरहेको छ । ज्ञातव्य छ, पछिल्लो पटक पार्टी अध्यक्ष कमल थापाले एकपक्षीय रुपमा ४२ केन्द्रीय सदस्य नियुक्ति गरेपछि पशुपतिशम्शेर जबरा पक्षधरले पार्टीको एकता निर्माणमा चुनौती रहेको दृष्टिकोण सार्वजनिक गर्दै आएको छ ।

पार्टीको विधानअनुसार १ सय ६३ केन्द्रीय सदस्यको व्यवस्था गरिएकामा पछिल्लो सदस्य थप भएपछि अब १ सय ५२ केन्द्रीय सदस्य छन् । पार्टीभित्र आन्तरिक विवाद चुलिरहेका बेलामा विभिन्न तहका नेताले गरेको प्रयत्नपछि तत्काललाई देखिएको विभाजनको चुनौती अन्त्य भएको बताइएको छ । असन्तुष्ट पक्षको सिफारिसमा ११ केन्द्रीय सदस्य बनाउन सकिने सम्भावना रहेको पनि एक नेताले बताए ।

राप्रपाको एकता महाधिवेशन सम्पन्न भएको करिब ६ महिनासम्म पनि केन्द्रीय कार्यसमितिले पूर्णता प्राप्त गर्न नसकेको तथा जनवर्गीय संगठनको स्थापना हुन सकेको थिएन । अवसरवादी चरित्र भएका नेताले समय समयमा गुट÷उपगुट बदल्ने समस्याले निष्ठावान् कार्यकर्ताले आफ्नो पार्टीमा मूल्यांकन नभएको महसुस गरेको पार्टीका नेता राजाराम श्रेष्ठको भनाई छ । यस्तै, असन्तुष्ट पक्षका नेता ठाकुरप्रसाद शर्माले केन्द्रीय कार्यसमितिको बैठक अगावै आन्तरिक समस्यालाई समाधान गरिने बताउँदै पार्टीलाई एकताबद्ध बनाएर आगामी चुनावमा सशक्त भूमिका निर्वाह गर्न विभिन्न तहमा बैठक बसिरहेको जानकारी दिए ।

पार्टीले रचनात्मक र राजनीतिक गतिविधि समयसापेक्ष सञ्चालन गर्न नसकेपछि कार्यकर्ताको मनोविज्ञान नकरात्मक हुने भनेर असन्तुष्ट पक्षले पार्टीले शुक्रबार आयोजना गरेको काठमाडौँ उपत्यका कार्यकर्ता भेलामा सहभागिता जनाएको थिएन । व्यवस्थापिका–संसदमा सो पार्टीका ३७ सदस्य छन् ।

राप्रपाले आगामी ४ गते केन्द्रिीय कार्यसमितिको बैठक बोलाएको छ । सो बैठकपछि पार्टी पुनः सहमतिको बाटोमा अघि बढ्ने दाबी राप्रपाका संस्थापन पक्षका नेताहरुले गरेका छन् । असन्तुष्ट पक्षले भने सजिलै सहमति जुट्न नसक्ने बताएको छ । विश्लेषकहरुको दृष्टिमा भने पटक-पटक फुट्दै र जुट्दै गरेको राप्रपा फुटेको हाँडीमा परिणत भइसकेकोले अन्तःष्करणदेखि फेरि जुट्ने सम्भावना निकै कम रहेको छ ।