निर्वाचन क्षेत्र निर्धारण आयोग छिट्टै गठन गरिने प्रतिबद्धता

निर्वाचन क्षेत्र निर्धारण आयोग छिट्टै गठन गरिने प्रतिबद्धता


बहुचासो र निकै प्रतीक्षाको विषय बनेको प्रदेशसभा एवम् प्रतिनिधिसभा निर्वाचन कानून निर्माण र निर्वाचन क्षेत्र निर्धारण आयोग छिट्टै गठन हुने सरकारी प्रतिबद्धता आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा स्वयमले निर्वाचन आयोगका पदाधिकारीलाई निर्वाचन क्षेत्र निर्धारण आयोग गठन र कानुन निर्माण चाँडै हुने विश्वास दिलाउँदै निर्वाचनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार प्रधानमन्त्री देउवालाई भेट्न पुगेका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसहितको टोलीलाई जवाफ दिँदै प्रधानमन्त्री देउवाले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन र कानुन निर्माण चाँडै हुने प्रतिबद्धता जनाए ।

सो भेटमा सहभागी गृहमन्त्री जनार्दन शर्माले पनि आयोगका पदाधिकारीसँग खासगरी निर्वाचनका लागि आवश्यक कानून र निर्वाचन क्षेत्र निर्धारण आयोगका विषयमा केन्द्रित रहेर छलफल भएको बताए । मतदाता नामावली संकलनको अवधि र स्थानीय तहमा पुगेर मतदाता नामावली दर्ता गर्न सकिन्छ वा सकिँदैन भन्नेबारेमा पनि छलफलमा कुरा उठेको बताइएको छ ।