प्रतिनिधिसभा सदस्यको संख्या बढाउने भनी सञ्चारमाध्यममार्फत् भएको प्रचारबाजीप्रति नेकपा (एमाले)को गम्भीर ध्यानाकर्षण भएको सो पार्टीले जनाएको छ । यो प्रचारबाजीलाई एमालेले ‘समयमै निर्वाचन नगर्ने नियतबाट गरिएको’ र यस प्रचारमा गम्भीर षड्यन्त्र लुकेको ठहर गरेको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले जनाएका छन् ।
एमाले स्थायी समितिको आइतबार ओली निवास बालकोटमा बसेको बैठकले प्रतिनिधिसभाका सदस्यको संख्या बढाउने कुराको पूर्ण विरोध गर्दै सो अस्वीकार गर्ने निर्णय गरेको पनि जनाइएको छ । कतैबाट यस्तो प्रस्ताव आए एमाले त्यसविरुद्ध दर्बिलो ढङ्गमा उभिने शीर्ष तहका एक नेताले बताए ।
एमालेको सो बैठकले निर्धारित समयमै प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नका लागि संविधानले व्यवस्था गरे अनुरुप १ सय ६५ निर्वाचन क्षेत्र निर्धारण गर्न अविलम्ब निर्वाचन क्षेत्र निर्धारण आयोग गठनका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
यसैगरी साउन १ देखि सुरु भएको मतदाता नामावली अद्यावधिक कार्यमा सक्रियतापूर्वक लाग्न पार्टीमातहत कमिटीहरूलाई स्थायी कमिटी बैठकले निर्देशित गरेको छ भने सबै नेपाली नागरिकलाई सहज र सुविधाजनक ढंगले मतदाता नामावलीमा नाम समावेश गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको ध्यानाकर्षण समेत गराइएको छ ।
पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनबाट हौसिएको एमालेले प्रदेश नम्बर २ को निर्वाचनमा पनि पहिलो स्थानमा विजय हासिल गर्नैपर्ने भन्दै त्यसका लागि पार्टीका समस्त कििमटी र कार्यकर्तालाई एकताबद्ध भएर परिचालन हुन निर्देशन गरेको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको तहहरूमा एमालेबाट निर्वाचित जनप्रतिनिधिका लागि साउन महिनाभित्र अभिमुखीकरण तथा प्रशिक्षण आयोजना गरिने पनि सो पार्टीले जनाएको छ ।
प्रतिक्रिया