चुनावी समीक्षा गर्दै माओवादी केन्द्र

चुनावी समीक्षा गर्दै माओवादी केन्द्र


नेकपा माओवादी केन्द्रले हालै सम्पन्न स्थानिय निर्वाचनको समिक्षाका सागै अन्य विषयमा छलफल गर्न आज विस्तारित बैठक बस्दैछ । बैठकमा निर्वाचनको समीक्षा र मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकार विस्तारलगायतका विषयमा छलफल गर्न माओवादी केन्द्रले आज केन्द्रीय कार्यालयमो विस्तारित बैठक बोलाएको जनाएको छ ।

बैठकमा ७५ वटै जिल्ला समितिका इन्चार्ज वा अध्यक्षको सहभागिता रहनेछ । उहाँहरुले आफ्नो जिल्लाको समग्र अवस्थाका बारेका पार्टी नेतृत्वलाई जानकारी गराउने र आगामी दिनमा कस्तो रणनीतिका साथ अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजेपछि बस्ने बैठकमा पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीले सोचेअनुसारको नतिजा प्राप्त गर्न नसक्नुका कारणलगायतका विषयमा छलफल हुनेछ ।
त्यस्तै प्रदेश नं २ को स्थानीय तहको निर्वाचनको तयारी र पार्टीको रणनीतिका विषयमा समेत छलफल हुने उहाँको भनाइ छ ।

माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा योजना र कार्यक्रमका हिसाबले गाउँगाउँमा सिंहदरबार भन्ने नारा अगाडि सारे पनि परिणाम सोचेअनुसार नआएको भन्दै त्यसको गहिरिएर समीक्षा गर्ने जनाएको छ । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले समसामयिक राजनीतिक प्रतिवेदन पेश गर्ने र जिल्ला इन्चार्जले जिल्लागत प्रतिवेदन पेश गर्ने कार्यसूची तय भएको छ ।