एमालेले फेरि माग्यो थप समय

एमालेले फेरि माग्यो थप समय


निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्न तोकेको समय साउन १ देखि १५ गतेसम्मको अवधिमा संशोधन नगरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पुनः आपत्ति जनाएको छ । नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रेस विज्ञप्ति जारी गरी नेपालको संविधानबमोजिम स्थानीय तह, प्रदेश र संघीय व्यवस्थापिकाको निर्वाचन २०७४ माघ ७ गतेभित्र अनिवार्य रुपमा सम्पन्न गरिनुपर्छ भन्ने कुरामा आफ्नो पार्टीले पुनः जोड दिएको उल्लेख गर्दै निर्वाचनका लागि आवश्यक मतदाता नामावली अद्यावधिक गर्ने सन्दर्भमा आम मतदाताको सुविधा, सहजता र सरोकार समेतलाई दृष्टिगत गरी पर्याप्त समय र उपयुक्त तथा आवश्यक प्रक्रिया अवलम्बन गर्न आयोगसँग माग गरेको छ ।

पार्टीका तर्फबाट नेता नेम्वाङले सोमबार आयोगसमक्ष उक्त मागपत्र बुझाएका छन् ।

एमालेको मागपत्रमा भनिएको छ– ‘निर्वाचन भइसकेका जिल्लाका स्थानीय तहअन्तर्गत जिल्ला समन्वय समिति गठनमा देखिएको अन्योल र ढिलाइलाई अविलम्ब अन्त गर्दै समिति गठन गर्न आवश्यक कार्य गरिनुपर्छ । यस्तै, निर्वाचन क्षेत्र निर्धारण आयोग गठन र निर्वाचनसम्बन्धी कानून निर्माणमा सरकारको तर्फबाट भएको ढिलाइलाई लिएर निर्वाचन आयोगको सकारात्मक पहलतर्फ एमालेको ध्यानाकर्षण भएको छ । यसलाई अझ कडाइका साथ निरन्तरता दिइनु पर्छ ।’