बल्ल तात्यो सत्ता-घटक !

बल्ल तात्यो सत्ता-घटक !


सरकारले आगामी बिहिबार निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने तयारी गरेको छ । विहिबार बस्ने मन्त्रिपरिषद्को बैठकले आयोग गठनबारे निर्णय लिने करिव करिव निश्चित भएको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई उद्धृत गर्दै कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले आयोग गठन गरी त्यसको प्रतिवेदनको आवश्यकताका बारे सरकारलाई झकझकाइरहेको छ।

नेता निधिका अनुसार एक दुई दिनमै मन्त्रिपरिषदले पनि पूर्णता पाउने गरी कांग्रेस र एमाओवादीबीच छलफल चलिरहेको छ । मन्त्री चयन गर्नको लागि नेपाली कांग्रेसको तर्फबाट कार्यदलको संयोजक समेत रहनुभएका नेता निधिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालसँग सोमबार उहाँकै निवासमा भेटी मन्त्रिपरिषद् विस्तार, निर्वाचन क्षेत्र निर्धारण आयोग गठनलगायत विषयमा विस्तृत छलफल भएको जानकारी दिँदै एक दुई दिनमै मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफलमा कुरा भएको बताउनुभयो ।

दुवै दलबीच मन्त्रालय बाँडफाँटका विषयमा सैद्धान्तिक सहमति भए पनि संख्या र विभागको टुंगो लगाउने जिम्मा भने दुवै दलका कार्यदललाई दिइएको बताइन्छ । कांग्रेस कार्यदलमा निधि र नेता रमेश लेखक तथा माओवादी केन्द्रका तर्फबाट उपप्रधानमन्त्री कृष्णबहादु्र महरा र नेता वर्षमान पुन हुनुहुन्छ ।

द्दातव्य के छ भने अहिले आठ सदस्यीय मात्र मन्त्रिपरिषद् रहेको छ जसमा कांग्रेसका प्रधानमन्त्रीसहित चार, माओवादी केन्द्रका तीन र नेपाल फोरम लोकतान्त्रिकका एक मन्त्री छन् । सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएको एक महिना बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसक्दा अनेक टिकाटिप्पणी भइरहेको छ ।