हल्ला मिथ्या र हास्यास्पद : डा. महत

हल्ला मिथ्या र हास्यास्पद : डा. महत


स्थानीय तहको तेस्रो चरणको निर्वाचनअघि नै संविधान संशोधन प्रस्ताव पारित गराउन सरकारले इमानदार प्रयास गर्नुपर्ने नेपाली कांग्रेसका नेता डा. रामशरण महतले बताउनुभएको छ । राजधानीमा सोमबार आयोजित एक अन्तरक्रियात्मक कार्यक्रममा डा. महतले सकेसम्म मधेश केन्द्रित दलसँग सहमति गरेर उनलाई पनि चुनावमा सहभागी गराउनुपर्ने धारणा अघिसार्दै कांग्रेसले यसबारे लचकता देखाएको दाबी गर्नुभयो ।

मन्त्रिमण्डल विस्तार गर्न केही ढिलाई भएको स्वीकार गर्दै कांग्रेसको एक्लै सरकार नभई गठजोड भएकोले यस्तो समस्या आएको संकेत डा. महतले गर्नुभयो, तर जनतालाई छिटो सेवा प्रवाह गर्नका लागि मन्त्रिमण्डल चाँडो विस्तार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सञ्चारकर्मीहरुले उठाएका एक प्रश्नको जवाफमा नेता महतले संसदको क्षेत्र १ सय ६७ बढाएर पूरानै २ सय ४० क्षेत्र कायम गर्ने हल्लामा सत्यता नभएको जिकीर गर्दै नेपाली कांग्रेस निर्वाचन क्षेत्र बढाउने पक्षमा नरहेको प्रष्टोक्ति दिनुभयो । आगामी माघ ७ गतेभित्र सबै निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता भएकाले यसलाई मध्यनजर गर्दै तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्नुपर्नेमा पनि उहाँको जोड थियो ।

पूर्वअर्थमन्त्रीसमेत रहनुभएका नेता डा. महतले कर फछ्र्यौट आयोगका पदाधिकारीलाई आफूले लुकाएको भनेर कतिपयले आरोप लगाएको प्रसंग उप्काउँदै यो नितान्त मिथ्या र हास्यास्पद भएको बताउनुभयो र अगाडि भन्नुभयो- ‘मैले लुकाएँ भनेर बाहिर हल्ला चलाएको छ, यो जत्तिको हास्यास्पद अरु के हुन्छ ? ममाथि लगाइएको आरोप गलत हो, म जहाँसुकै गएर पनि यसको फेस गर्न तयार छु ।’ कर फछ्र्यौट आयोग गठन, भ्याट कानूनअन्तर्गत नयाँ आधारमा ऐन, पुँजी लाभकर ऐन, उदार अर्थतन्त्र लगायतका महत्वपूर्ण काम आफू अर्थमन्त्री हुँदा नै भएको उहाँले बताउनुभयो ।

बाह्र अर्ब राजश्व उठ्ने मुलुकमा म अर्थमन्त्री र काँग्रेसको सरकार हुँदा अहिले ७०० अर्बको राजश्व उठेको छ, यो हामीले कडा कानून नल्याएको भए सम्भव हुन्थ्यो र ? भन्ने सवाल उठाउँदै महतले भन्नुभयो¬, ‘मैले त डुबेको अर्थतन्त्रलाई उकास्ने काम गरेको छु ।’