माओवादी नेताका माग : ‘जम्बो केन्द्रीय समिति विघटन गर’

माओवादी नेताका माग : ‘जम्बो केन्द्रीय समिति विघटन गर’


माओवादी केन्द्रको कार्यलय पेरिसडाँडामा जारी सचिवालयको विस्तारित बैठकमा अधिकांश नेताहरूले चारहजार संख्याको केन्द्रीय समिति विघटन गर्न माग गरेका छन् ।

बैठकको दोस्रो दिन जिल्ला इन्चार्जहरूले स्थानीय निर्वाचनमा पार्टीले हार्नु परेका कारणबारे रिर्पाेटिङ गर्दै चुस्त र दुरुस्त केन्द्रीय समिति समेत गठन गर्न माग गरेका हुन् ।

उनीहरूले संगठनविनाको जम्बो केन्द्रीय समतिको अर्थ नभएको भन्दै संगठन अभावकै कारण स्थानीय तह चुनाव हार्नुपरेको गुनासो गरे ।

मंगलबार बोल्ने जिल्ला इन्चार्ज तथा संयोजकहरूले संगठन, श्रोत साधनको अभाव, भएको स्रोत साधन र आर्थिक परिचालन सन्तुलित ढंगले गर्न नसकेकै कारण पार्टीले हार व्यहोर्नु परेको बताए ।

रिपोर्ट पेश गर्ने क्रममा जिल्लाभर एउटै पनि स्थानीय प्रमुख नजितेको धनकुटा जिल्लाका इन्चार्ज हेमराज भण्डारीले अन्य इन्चार्जको भन्दा अलि फरक रिर्पोटिङ गरेका थिए ।

उनले स्थानीय चुनावमा धनकुटाबाट एक स्थानीय तह पनि नजितेपछि पार्टीको जिम्मेवारीबाट राजिनामा दिएका थिए । भण्डारीले लिखित रुपमै १७ वटा बुँदामा विस्तारित बैठकमा पराजयका कारण पेश गर्दै राजीनामा दिएका हुन् ।

बैठकको दोस्रो दिन मंगलबार जनार्दन शर्मा, उर्मिला अर्याल, टेकहादुर बस्नेत, रामराज रेग्मी, जीवन बुढा, रामदीप आचार्य, पूर्ण सुवेदी, रमेश मल्ल, कमला रोक्का, डिलाराम आचार्य, देवी खड्का, दधिराम न्यौपाने, प्रलाद र देवेन्द्र लगायतले बोलेका छन् ।