राणाद्वारा कार्यसमिति बैठक बहिष्कार !

राणाद्वारा कार्यसमिति बैठक बहिष्कार !


राष्ट्रिय प्रजातन्त्र पार्टीको आज (बुधबार) हुने केन्द्रीय कार्य समितिको बैठक नेता पशुपति शम्सेर राणा सहित अन्य सदस्यले बहिस्कार गर्ने चेताबनी दिएका छन् ।  राप्रपाका अध्यक्ष कमल थापाले दोस्रो केन्द्रीय समितिका एजेन्डा तय गर्न बोलाएको कार्यसम्पादन समिति बैठक वरिष्ठ नेता पशुपतिशमशेर राणासहित ७ सदस्यले बहिष्कार गरेका छन् । अध्यक्ष थापाले एकलौटी रूपमा ४२ केन्द्रीय सदस्य मनोनयन गरेको भन्दै असन्तुष्ट राणापक्षीय नेताहरू कार्यसम्पादन समिति बैठकमा सहभागी भएन । अनुपस्थित नेताहरूले बुधबारबाट सुरु हुने केन्द्रीय कार्य समिति बैठक पनि बहिष्कार गर्ने चेताबनी दिएका हुन ।

सो बैठक बहिष्कार गर्नेमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, नेपालगन्ज उपमहानगरका मेयर डा. धवलशमशेर राणा, कार्यसम्पादन समिति सदस्यहरू हरिबहादुर बस्नेत, नवराज सुवेदी, बालाराम घर्तीमगर र हेमजंग गुरुङ सहित सात सदस्य अनुपस्थित रहेका थिए । चन्द वरिष्ठ नेता र मेयर राणा महामन्त्री हुन । राप्रपाको कार्यसम्पादन समिति १७ सदस्यीय छ ।

आफ्ना बाबु वरिष्ठ नेता चन्द बैठकमा अनुपस्थित रहे पनि राप्रपा महामन्त्री जयन्त चन्द भने सहभागी भए । पार्टीको सचिवालय हेर्ने महामन्त्री चन्दले बैठकमा भावी कार्ययोजना र सचिवालयसम्बन्धी प्रतिवेदन पेस गरेका थिए । पदाधिकारी र कार्यसम्पादन समिति बैठक बहिष्कार गरेका नेता राणाले बुधबार (आज) बाट सुरु हुने केन्द्रीय समिति बैठक पनि बहिष्कार गर्ने चेताबनी दिएको स्रोतको भनाई रहेको छ । अध्यक्ष थापाले पार्टी एकीकरणको मूल मर्म लत्याउँदै एकलौटी निर्णय गर्दै हिँड्ने, त्यसको साक्षी बस्न केन्द्रीय समिति बैठकमा उपस्थित हुनुको औचित्य नभउको राणाले बताएका छन ।

राणाले आफूपक्षीय केन्द्रीय सदस्यहरूलाई टेलिफोन गरी अनुपस्थित हुन आग्रह गरिरहेका थिए । राणा पक्षीय नेताहरू अनुपस्थित कार्यसम्पादन समिति बैठकले बहुमतले अध्यक्ष थापाको राजनीतिक प्रतिवेदन पारित गरेको छ । सो प्रतिवेदन बुधबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा पेस हुनेछ । बैठकमा अध्यक्ष थापाले राजनीतिक प्रतिवेदन, कोषाध्यक्ष उद्धव पौडेलले आर्थिक प्रतिवेदन, महामन्त्री जयन्त चन्दले भावी कार्ययोजना र सचिवालयसम्बन्धी प्रतिवेदन र अर्का महामन्त्री धु्रवबहादुर प्रधानले स्थानीय तहको निर्वाचनको समीक्षासम्बन्धी प्रतिवेदन पेस गरेका थिए ।

राप्रपाले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा एउटा मात्रै गाउँपालिका प्रमुख जितेपछि हारको कारण पत्ता लगाउन महामन्त्री ध्रुवबहादुर प्रधानको संयोजकत्वमा समिति बनाएको थियो । प्रधानले मंगलबारको कार्यसम्पादन समिति बैठकमा प्रतिवेदन पेस गरेका छन् । प्रतिवेदनमा पार्टी आफ्ना प्रायः एजेन्डामा अस्पष्ट भएकाले पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा अप्रत्यासित नतिजा आएको उल्लेख गरेका छन् । पार्टी एकीकरण र एकता महाधिवेशनमा जुट्नु परेकाले कार्यकर्ता र जनतालाई स्पष्ट एजेन्डा बुझाउन नसक्नु, प्रधानन्यायाधीश सुशीला कार्कीमाथि सत्तारुढ दलका सांसदहरूको नेतृत्वमा लगाइएको महाअभियोग प्रस्तावको विरोध गर्दै हतारमा सरकारबाट बाहिरिनु हारको कारण रहेको प्रतिवेदनमा उल्लेख छ ।