प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डको आग्रहलाई राष्ट्रिय जनता पार्टीले अस्विकार गरेको छ । देउवा र प्रचण्डले आज विहान राजपाका नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो र अनिल झालाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर संविधान संशोधन प्रस्ताव संसदबाट पारित नहुने भए पनि मतदानको लागि संसदमा पेस गर्न दबाबमूलक शैलीमा आग्रह गरेका थिए । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डका अतिरिक्त नेताहरू रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झा र मातृका यादवको उपस्थिति थियो ।
प्रधानमन्त्री देउवा र प्रचण्डले राजपाका नेताहरूसँग संशोधन प्रस्ताव पारित नहुने स्थिति भए पनि मतदानमा लैजानका निम्ति सहयोग गर्न भन्दै निर्वाचनमा सहज सहभागिताका लागि आग्रह गरेका थिए । तर, राजपाका नेताहरूले देउवा र प्रचण्डको अनुरोध अस्विकार गर्दै संशोधन प्रस्ताव पारित हुने भए मात्र संसदमा प्रस्तुत गर्नुपर्ने जवाफ फर्काएका थिए । राजपा नेताहरूको भनाइ थियो– ‘सरकारले हामीसँग पहिले नै भएका सहमतिहरूको कार्यान्वयन अहिलेसम्म भएको छैन । सहमति कार्यान्वयन हुँदा मात्र विश्वासको वातावरण बन्न सक्छ ।
आन्दोलनमा ज्यान गुमाउनेहरलाई शहीद घोषणा गर्नुपर्ने, आन्दोलनकारीहरूमाथि लगाइएको मुद्दा फिर्ता लिनुपर्ने र आन्दोलनका क्रममा घाइते भइ अपाङ्ग भएकाहरूलाई उपचार गर्न तथा तिनको जीवन निर्वाहका लागि विशेष व्यवस्था गर्ने विषयमा भएको सहमति कार्यान्वयन गर्न राजपा नेताहरूले जोड दिएका थिए । त्यस्तै, स्थानीय निकायको सङ्ख्या बढाउन पहिले भएको र सहमति कार्यान्वयनमा ल्याउन पनि उनीहरूले माग गरेका थिए । संशोधन प्रस्ताव मतदानमा लैजाने भए त्यो पारित हुने ग्यारेन्टी हुनुपर्ने भन्दै राजाप नेताहरूले निर्वाचन (असोज–३) मा सहभागिताका लागि संविधान संशोधन हुनैपर्ने शर्त दोहो¥याएका थिए ।
देउवा र प्रचण्डले संशोधन प्रस्ताव पारित हुने स्थिति नभए पनि मतदानमा लैजाने र पारित नभएको अवस्थामा पनि राजपाले चुनावमा सहभागिता जनाउनुपर्ने भनी बारम्बार जोड दिएपछि राजपा नेताहरू अलिक क्रुद्ध बनेका थिए ।

प्रतिक्रिया