देउवा जाने र मोदी आउने निश्चित

देउवा जाने र मोदी आउने निश्चित


प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण भारतको गणतन्त्र दिवस (१५ अगस्ट) पछि मात्र हुने भएको छ । परराष्ट्र मन्त्रालय सूत्रले जनाएअनुसार अहिलेसम्म प्रधानमन्त्रीको भ्रमणका लागि दुवैतर्फ कुनै तयारी सुरु भएको छैन । तर, आगामी केही दिनभित्रै भ्रमणका लागि आवश्यक कूटनीतिक प्रक्रिया सुरु हुने र आगामी असोज ३ गते प्रदेश नम्बर २ मा स्थानीय निर्वाचन सुरु हुनुअगावै प्रधानमन्त्री देउवाको भारत भ्रमण सम्पन्न भइसक्ने बुझिएको छ । भ्रमणको तिथिमिति दुईपक्षीय कूटनीतिक गृहकार्यका क्रममा टुङ्गो लगाइने भएको छ ।

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तिथि सुनिश्चित नभइसके पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट नेपालको भ्रमण हुने भने निश्चित भइसकेको छ । करिब चार सय मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणको शिलान्यास भारतीय प्रधानमन्त्री मोदीबाट हुने निश्चित भएको हो । भारत सरकारको लगानी रहेको सतलज नामक जलविद्युत् कम्पनीले अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । सात वर्षअघि नै उक्त आयोजना निर्माणका निम्ति पीडीए (पावर डेभलपमेन्ट एग्रिमेन्ट) भइसकेको भए पनि सो सम्झौतामा उल्लेख भएअनुरूप नेपालले आफ्नोतर्फबाट पूरा गर्नुपर्ने काम नगरेका कारण निर्माण कार्यमा विलम्ब भएको बताइन्छ ।

एक रूख काटिएबापत रोप्नुपर्ने रूखको विषयलाई लिएर वन मन्त्रालयले पैदा गरेको अड्चन अब समाप्त भएको मानिएको छ । नास भएबापतको रूख रोप्न जे–जति रकम आवश्यक पर्ने हो, नेपालले दाबी गरेजति नै रकम सोका लागि उपलब्ध गराउन भारतीय कम्पनी तयार भएपछि उक्त अड्चन समाप्त हुन पुगेको हो । त्यस्तै, आयोजना स्थलसम्म पुग्ने सडक निर्माण गर्ने दायित्व पनि पीडीएअनुसार नेपालकै जिम्मेवारीभित्र परेको छ । वर्षात्लगत्तै नेपालले सडकको मर्मतसम्भार कार्य पूरा गरेमा त्यसलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अरुण तेस्रो आयोजनाको शिलान्यास गर्न नेपाल आउने निश्चित भएको हो । भारतले सो आयोजनाको निर्माणकार्य सुरु गर्न रकम विनियोजनसमेत गरिसकेको छ । नेपालले सडक सुधारलगायत आफ्नो जिम्मेवारीभित्र परेको काम कहिलेसम्ममा पूरा गरिसक्छ भन्ने कुराले शिलान्यासको मिति निर्धारण गर्ने देखिएको छ । नेपाली पक्षले कहिलेसम्म आफ्नो जिम्मेवारीभित्रको काम पूरा गरिसक्ने हो अहिलेसम्म सो यकिन हुन सकेको छैन ।

आजभन्दा करिब २५ वर्षअघि नै एसियाली विकास बैंकको सहयोगमा बन्न लागेको अरुण तेस्रो आयोजना एमाले संसदीय दलका तात्कालिक नेता माधवकुमार नेपालले एडीबीलाई पत्र लेखेर रोक लगाएका कारण अवरुद्ध हुन पुगेको थियो । नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने ठानिएको सो आयोजनाको निर्माणकार्य अहिले पनि नेपालकै कारण विलम्व हुने स्थितिमा रहेको विज्ञहरूको भनाइ छ ।