फेरि सशक्त हुँदै वाईसीएल

फेरि सशक्त हुँदै वाईसीएल


सरकारमा उत्साहजनक सहभागिता र स्थानीय निर्वाचनमा प्राप्त सफलताबाट तङ्ग्रिएको माओवादीले अब फेरि वाईसीएललाई सशक्त र सक्रिय बनाउने भएको छ । वाईसीएल केन्द्रीय कार्यालयका राजधानीमा उपलब्ध टोलीले मंगलबार (साउन ३ गते)अध्यक्ष प्रचण्ड र गृहमन्त्री जनार्दन शर्मा प्रभाकरसँग भेट गरी ‘नयाँ पार्टी’ र ‘नयाँ वाईसीएल’ निर्माणका विषयमा गम्भीर छलफल गरेको छ । छलफलका क्रममा अध्यक्ष प्रचण्डले पार्टी निर्माणमा युवाहरूको सक्रिय सहभागिता र पहलकदमीको आवश्यकता रहेको बताएका छन् । प्रचण्डले त्यस अवसरमा पछिल्लो समयमा देखिएको गतिशीलताको समस्या वाईसीएलको नभई पार्टीको भएको स्पष्ट गर्दै यस्तो समस्याको समाधान अब गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । नेताहरूसँगको छलफलपश्चात् आगामी भदौ २ र ३ गते वाईसीएलको एकता सम्मेलन काठमाडौंमा गर्ने निर्णय लिइएको छ । २०६८ सालमा पार्टी विभाजन भएयता निष्क्रिय रहँदै आएको वाईसीएललाई सशक्त बनाएर आगामी निर्वाचनमा सहभागी गराउने निर्णय पनि सो अवसरमा भएको छ ।

माओवादी बैठकमा पहिचानको चिन्ता

स्थानीय निर्वाचन सम्पन्न गराउन सक्नुलाई नै ठूलो उपलब्धि र आफ्नो सफलता ठान्ने माओवादी केन्द्र निर्वाचनको समीक्षा गर्न बैठकमा जुटेको छ । सचिवालयको विस्तारित बैठक आयोजना गरेर समीक्षामा जुटेको माओवादी केन्द्रले बैठकमा सचिवालयका सदस्यहरूका साथ पार्टीका जिल्ला इन्चार्जहरूलाई पनि सहभागी गराएको छ । बैठकमा पार्टी अध्यक्ष प्रचण्डले पार्टीका उपलब्धिहरू स्पष्ट पार्दै निर्वाचनका क्रममा भएका कमी–कमजोरीहरू केलाउनुभएको थियो । उहाँले पार्टी निकट भविष्यमै पुनः सरकारको नेतृत्व लिन सफल हुने विश्वास पनि बैठकका सहभागीसमक्ष प्रकट गर्नुभएको थियो ।

माओवादी सचिवालयको विस्तारित बैठकका अधिकांश सहभागीले निर्वाचनमा पार्टीले छुट्टै चरित्र र पहिचान कायम गर्न नसकेको भन्दै गम्भीर आपत्ति जनाएका छन् । हामी काङ्गे्रस र एमालेभन्दा के कुरामा भिन्न रह्यौँ भन्ने प्रश्न गर्दै उनीहरूले पार्टी न संसदीय प्रणालीका पक्षमा स्पष्ट देखियो न पार्टीको क्रान्तिकारी चरित्र नै प्रस्तुत हुन सक्यो भन्ने चिन्ता प्रकट गरेका छन् । आउँदा निर्वाचनमा पार्टीको क्रान्तिकारी चरित्र झल्किने नीति, कार्यक्रम र व्यवहार प्रस्तुत हुनुपर्नेमा उनीहरूले विशेष जोड दिएका छन् ।