पूर्वमन्त्रीले दिए पूर्वमन्त्रीलाई अनौठो बधाई

पूर्वमन्त्रीले दिए पूर्वमन्त्रीलाई अनौठो बधाई


गत मंगलबार राजधानीमा आयोजित एक समारोहमा सहभागी भएका पूर्वमन्त्री गणेश शाहले अर्का पूर्वमन्त्री लक्ष्मणप्रसाद घिमिरेलाई विनासन्दर्भ अचानक बधाई दिए । नेपाल इञ्जिनियर्स एशोसिएसनको वार्षिक दिवसका अवसरमा साउन ३ गते राजधानीमा एक विशेष समारोहको आयोजना गरिएको थियो र, समारोहकमा प्रमुख अतिथि थिए प्रधानमन्त्री शेरबहादुर देउवा ।

निर्धारित समयभन्दा एक घण्टा ढिलो गरी कार्यक्रम स्थलमा पुगेका देउवाले जाँदाजाँदै भने– ‘मलाई एकदमै हतार छ ।’ एक घण्टासम्म देशका विशिष्ट नागरिक तथा राष्ट्रिय विकासमा सर्वाधिक महत्वपूर्ण भूमिका निर्वाह गर्ने इन्जिनियरहरूलाई कुराएकोमा प्रधानमन्त्रीले क्षमा माग्ने अपेक्षा गरिरहेका आयोजकहरू ढिलो गरी कार्यक्रममा आएर देउवाले आउँदाआउँदै ‘मलाई हतार छ’ भन्न थालेपछि खिन्न भएका थिए ।

देशको भौतिक विकासमा सर्वाधिक महत्वपूर्ण मानिने इन्जिनियरहरूको राष्ट्रिय उतसवमा केही न केही स्मरणयोग्य ‘वाणी प्रकट गरेर’ प्रधानमन्त्री देउवाले आफ्नो उचाई बढाउने र इन्जिनियरहरूलाई प्रोत्साहित गर्ने आशा गरिएको थियो । तर, प्रधानमन्त्रीले अभिव्यक्तिमार्फत न आफ्नो उचाई बढाए न सहभागीहरूलाई प्रोत्साहित नै गरे ।

तथापि, कार्यक्रमको समापन भएपछि पूर्वमन्त्री गणेश शाहले काङ्ग्रेस नेता एवम् पूर्वमन्त्री लक्ष्मणप्रसाद घिमिरेसँग दर्बिलो हात मिलाउँदै भने– ‘लक्ष्मणजी तपाईंलाई धेरै–धेरै बधाई छ ।’ यसरी सँगै बसेका साथीबाट अचानक बधाई पाएपछि नेता घिमिरे छक्क परे र सोधे– ‘मलाई किन बधाई ?’

जवाफ फर्काउँदै गणेश शाहले भने– ‘होइन आज तपाईंका नेताले जे पायो त्यहि बोलेर फेरि अर्को विवाद र तनाव त सुरु गराएनन् नि ! मलाई प्रधानमन्त्रीले आज पनि अन्टसन्ट बोलेर फेरि तपाईंहरुको बेइज्जत गर्लान् भन्ने लागेको थियो, त्यस्तो विवादास्पद बोली र व्यवहार नदेखाएकोले तपाईंलाई बधाई दिएको हुँ ।’

यसरी आफ्नो पार्टीका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर दउवाले राम्रो गरेर भन्दा पनि नराम्रो नगरिदिएकोमा बधाई पाउँदा नेता घिमिरेले भने अलिक असहजता महसुस गरेका थिए ।