३५औँ स्मृति दिवस : बीपीलाई सम्झँदै आज विविध कार्यक्रम

३५औँ स्मृति दिवस : बीपीलाई सम्झँदै आज विविध कार्यक्रम


नेपाली कांग्रेसका संस्थापक प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३५औँ स्मृति दिवस कांग्रेस पार्टी, उसका भातृ संगठनहरु एवम् विभिन्न संस्थाहरुले विविध कार्यक्रम गरी आज मनाउँदै छन् । आफ्नो समयमा ‘सोसलिस्ट इन्टरनेशनल’ उपाध्यक्षको जिम्मेवारी लिई सक्रियता दर्शाउनुका साथै प्रजातान्त्रिक समाजवादका ब्याख्याताका रुपमा सुपरिचित कोइराला प्रजातन्त्र पुनःस्थापनामा सक्रिय रहँदारहँदै ६ साउन २०३९ मा क्यान्सर रोगबाट दुःखद निधन भएको थियो ।

राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना गर्ने उद्देश्यले विसं २००३ मा बीपी कोइरालाकै अग्रसरतामा नेपाल प्रजातन्त्र कांग्रेसको स्थापना भएको थियो । सुवर्ण शमशेरलगायतका पात्रहरु जसले राणा परिवारबाटै विद्रोह गरेका थिए, उनीहरुलाई समेत साथ लिई विसं २००६ मा स्थापना भएको नेपाली राष्ट्रिय कांग्रेससँग एकता भएपछि बीपीकै अगुवाईमा सशस्त्र क्रान्तिको घोषणा भएको थियो । जुन क्रन्तिले ०७ फागुन ७ गते प्रजातन्त्र स्थापना ग¥यो ।

यसपछि बनेको राणासहित सम्मिलित कांग्रेस सरकारमा बीपी कोइराला गृहमन्त्री बन्नुभयो भने विसं २०१५ मा भएको पहिलो संसदीय निर्वाचनमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि कोइराला नेपालकै पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको हो ।

बीपीको सरकारले १८ महिना पनि काम गर्न नपाउँदै विसं २०१७ पुस १ गते जननिर्वाचित प्रधानमन्त्री कोइराला, संसद्का सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री गणेशमान सिंहलगायत नेतालाई केही महिना सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएको थियो ।

अब्बल साहित्यकारका रुपमा पनि बीपीको परिचय बनेको छ । विसं २०१५ अघि नै ‘दोषी चश्मा’ कथा संग्रहमार्फत मनोविश्लेषणवादी साहित्य क्षेत्रमा प्रवेश गर्नुभएका कोइरालाले सुन्दरीजल बन्दी गृहमा एक दर्जन बढी साहित्यिक कृतिको रचना गर्नुभयो । जेलमा बिपीले रचना गर्नुभएका साहित्यिक कृतिमा ‘श्वेत भैरवी’, ‘तीन घुम्ती’, ‘सुम्निमा’, ‘बाबु,आमा र छोरा’, ‘मोदी आइन’, ‘आफ्नो कथा’, ‘जेल जर्नल’, ‘हिटलर र यहुदी’ ‘नरेन्द्र दाइ’लगायत छन् । बीपीले प्रजातन्त्र स्थापना र पुनःस्थापनामा पु¥याउनुभएको योगदान, जेल जीवनलगायत विषयमा उहाँसँग गरिएको कुराकानीमा आधारित ‘आत्मवृतान्त’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई भारत निर्वासनबाट स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दी गृहमा लगेपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ लगायत पुस्तक निकै प्रसिद्ध छन् ।

जेल भोगाइकै क्रममा बिरामी पर्नुभएका कोइरालालाई विसं २०२५ मा सुन्दरीजल बन्दी गृहबाट उपचारका लागि रिहा गरिएको थियो । रिहा भएपछि पनि उहाँ प्रजातन्त्र पुनःस्थापनाका लागि पुनःसक्रिय हुनुभयो । जेलबाट रिहा भएपछि भारत निर्वासनमा बसेर क्रियाशील हुनुभएका कोइराला विसं २०३३ मा राष्ट्रियतामाथि खतराको बादल मडारिएको ठहर गर्दै एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्कनुभएको थियो, जतिबेला उहाँमाथि तत्कालीन शासन व्यवस्थाले आठ वटा मृत्यु दण्डका मुद्दा लगाएको थियो । तर, त्यसको परवाह नगरी उहाँ स्वदेश फर्कनुभएको सन्दर्भ नेपाली राजनिितमा हरदम चर्चाको विषय बन्दै आएको छ ।

स्वदेश फर्किएर मृत्युदण्डका मुद्दाको सामना गर्दैै बहुदलीय व्यवस्था र सुधारिएको निर्दलीय पञ्चायत व्यवस्थाबीच जनमत संग्रह गराउन नेतृत्वदायी भूमिका बीपी कोइरालाले नै निर्वाह गर्नुभयो । जनमत संग्रहमा विभिन्न हत्कण्डा अपनाइ बहुदल पक्षलाई हराए पनि परिणाम स्वीकार
गरेर उहाँले महान प्रजातान्त्रिक गुण प्रदर्शन गर्नुभएको थियो । दक्षिण एसियाकै यी महान नेताको सम्झनामा हरेक वर्ष साउन ६ गते स्मृति दिवस मनाउने गरिएको छ ।