युवा संघभित्रको असन्तुष्टि यसरी पोखिँदै

युवा संघभित्रको असन्तुष्टि यसरी पोखिँदै


विधानबमोजिम समयमै महाधिवेशन नभएपछि नेकपा (एमाले)को भातृ संगठनको रुपमा चिनिने युवा सङ्घभित्र असन्तुष्टि बढेर गएको छ । प्रत्येक तीन वर्षमा हुनुपर्ने महाधिवेशन नभएको पाँच वर्ष पुग्न लागेपछि सङ्घका केही पदाधिकारीले तत्काल महाधिवेशनको मिति तोक्न नेतृत्वसंग माग गरेको छन् । सङ्घका पाँच पदाधिकारीले एक प्रेस विज्ञप्ति जारी गर्दै महाधिवेशनको माग गरेका हुन् ।

यसरी महाधिवेशनको लागि नेतृत्वलाई झक्झक्याउनेहरुमा सङ्घका उपाध्यक्षद्वय दिलुकुमारी पन्त, राजु गरुङ तथा सचिव नरेश शाही, क्रान्ति बुर्लाकोटी, हस्त शाही र मञ्जु यादव रहेका छन् । उनीहरु एमालेको संस्थापक्षविरोधि युवाका रुपमा चिनिन्छन् । उनीहरुद्वारा जारी विज्ञप्तिमा तत्काल महाधिवेशन गरी नयाँ नेतृत्व हस्तान्तरण गर्न माग गरिएको छ ।

युवा सङ्घको महाधिवेशन तीन÷तीन वर्षमा हुनुपर्ने हो तर पाँच वर्षसम्म पनि नहुनु दुःखद कुरा होे भन्दै विज्ञप्तिमार्फत् तत्काल महाधिवेशनको मिति तोक्न आग्रह गरिउको छ ।

सचिव नरेश शाहीले एक वर्षभित्र महाधिवेशन गर्छु भन्दै अध्यक्ष बनेका राजीव पहारीले दुई वर्ष पूरा हुँदा पनि गर्न नसकेपछि महाधिवेशनको माग गरिएको जानकारी दिए । पहारी अध्यक्ष ओलीनिकट युवा नेता हुन् भने नरेशले एमालेकै अर्को धारको प्रतिनिधित्व गर्छन् ।

ज्ञातव्य छ, सङ्घको आठौँ महाधिवेशन विसं २०६९ फागुनमा बुटवलमा भएको थियो । विसं २०७१ मा महेश बस्नेत उद्योगमन्त्री भएपछि सङ्घको महाधिवेशन नभई केन्द्रीय बैठकबाट नै अध्यक्षसहित पदाधिकारी चयन हुँदै आएको छ ।