बैंक कर्मचारी गौडेलको अवस्था अज्ञात

बैंक कर्मचारी गौडेलको अवस्था अज्ञात


विगत दुई सातादेखि घरबाटै बेपत्ता भएका कृषि विकास बैंक कुश्मा शाखामा कार्यरत कर्मचारीको अवस्था अझै अज्ञात रहेको छ । पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवाका दीपेन्द्र शर्मा गौडेल गत असार २२ गते बिहीबारदेखि बेपत्ता हुनुभएको हो । असार २१ गते साँझ कार्यालयवाट घर फर्किएर खाना खाएर सुतेका गौडेल बिहीबार बिहान ४ बजेदेखि सम्पर्कमा नरहेको परिवारले जनाएको छ ।

लामो समयदेखि बैंकमा कार्यरत गौडेल बेपत्ता भएपछि खोजी कार्यलाई तीव्रता दिइएको भएपनि अझै कुनै पत्तो नलागेको स्थानीयवासी युवनाथ गौडेलले जानकारी दिनुभयो । बैंकमा लेखपाल पदमा कार्यरत उनी सम्पर्कविहीन हुनुको कारण समेत अझै पत्ता लागेको छैन । जिल्ला प्रहरी कार्यालय, पर्वतले बेपत्ता गौडेलको नाम, वतन र हुलियासहित खोजी कार्यलाई तीव्रता दिएपनि कतैबाट पनि केही जानकारी नआएको जनाएको छ ।

प्रहरी नायब उपरीक्षक मधुकरजङ्ग विष्टले अहिलेसम्म गौडेलको अवस्थाबारे कुनै जानकारी नआएको बताउनुभयो । लामो समयसम्म पनि सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन अपिल गरेका छन् । उनीहरुले आफ्ना आफन्त, इष्टमित्र जताततै सम्पर्क गरिसकेका छन् भने गाउँलेले पनि सम्भावित ठाउँको खोजी गरिसकेको बताएका छन् । गाउँलेले आत्महत्या गरेको आशङ्कामा कालीगण्डकी नदीका किनारमा समेत खोजी कार्यलाई तीव्रता दिएको बताएका छन् । बैंकका कर्मचारी तथा मुडिकुवाका समाजसेवीसमेत रहेका गौडेल बेपत्ता भएको घटना रहस्यमय बन्दै गएको छ । रासस