नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको चालु केन्द्रिय कार्यसमितिको बैठकमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पूर्ण रूपले असफल भएको निश्कर्ष सुनाउँदै नेतृत्व छोड्न चुनौती दिनुभयो ।
पौडेलको भनाई छ– ‘सिंहदरबार पनि अलपत्र छ र सानेपा पनि अलपत्र छ । दुबै जिम्मेवारी बोक्न नसकेको स्थिति स्पष्ट भइसकेको छ । अब हामीले नेतृत्वबाट पछि हट्नु पर्यो र नयाँ पुस्तालाई जिम्मेवारी दिएर पार्टी बचाउनु पर्यो ।’
शनिबार विहान पार्टी कार्यालय सानेपामा शुरु भएको बैठकमा सभापति देउवाले स्थानीय निर्वाचनमा पार्टीले राम्रो परिणाम हासिल गर्न नसकेको र त्यसनिम्ति सबैको कमजोरी भएको बताउँदै आगामी निर्वाचनहरूमा एकताबद्ध भई विगतका कमी–कमजोरी सच्याएर निर्वाचनमा जानुपर्ने धारणा राख्नुभएको थियो । देउवाको जोड एक–अर्कालाई दोषी देखाउनुभन्दा पनि कमजोरी सच्याएर अघि बढ्नुपर्छ भन्नेमा थियो ।
तर, वरिष्ठ नेता पौडेल काङ्ग्रेस बैठकमा निकै गम्भीर र ‘बोल्ड’ रूपमा प्रस्तुत हुनुभयो । पौडेलको स्पष्ट सङ्केत थियो– ‘शेरबहादुर देउवा पार्टी सभापति र प्रधानमन्त्री दुवै जिम्मेवारीमा असफल भइसक्नुभएको छ ।’ तर उहाँले आफू पनि देउवाझैँ सत्तरी वर्ष काटिसकेको हुनाले दुवैजना पछि हटेर युवा पुस्ताले नेतृत्व लिनु उपयुक्त हुन्छ भन्ने धारणा राख्नुभयो ।
पौडेलले यदि दुवै पद त्याग गर्न देउवा तयार नहुने या युवा पुस्तालाई नेतृत्व हस्तान्तरण नगरिने हो भने सभापति र प्रधानमन्त्रीको जिम्मेवारी एक–एकजनाले लिनुपर्यो, दुवै जिम्मेवारी एउटैले लिँदा पार्टीलाई अप्ठ्यारो पर्यो भन्नुहुँदै देउवालाई सभापति या प्रधानमन्त्री दुईमध्ये एउटा पद छोड्न चुनौती दिनुभयो ।
पौडेलले बैठकमा पटक–पटक भन्नुभयो– ‘पार्टी बचाउनु पर्यो, त्यसका लागि हामीले जस्तोसुकै त्याग गर्न पनि तयार हुनुपर्छ ।’
निर्वाचनको समीक्षा गर्दै भावी कार्ययोजना बनाउन आयोजित काङ्ग्रेस कार्यसमिति बैठकमा वक्ताहरूले सभापति एवम् प्रधानमन्त्री देउवाको कार्यशैली र कार्यक्षमतामाथि गम्भीर प्रश्न उठाएका छन् । बैठक आज आइतबार पनि जारी छ ।

प्रतिक्रिया