संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपाल बीचको एकता वार्ताले आज (आइतबार) साँझसम्म निष्कर्ष पाउने बताइएको छ । नयाँ शक्ति र फोरमले दुई पार्टीबीचको एकताका लागि दुवै पार्टीबाट वार्ता समिति बनाएको छ । सङ्घीय समाजवादी फोरमबाट राजेन्द्र श्रेष्ठ र नयाँ शक्तिका तर्फबाट देवेन्द्रको पौडेल वार्ता समितिको संयोजक रहेका छन् ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको फोरमले दुई पार्टीको एकता हुने वा नहुने आइतबारै टुङ्ग्याउन लागेका हुन् । सैद्धान्तिक र राजनीतिक रुपमा दुई पार्टीबीच समस्या नरहे पनि पार्टीको प्रमुख नेतृत्व र नामका बारेमा भने अहिलेसम्म समझदारी हुन सकेको छैन।
‘हामी केही महिनायता निरन्तर दुवै पार्टीमा केन्द्रीय तहमै छलफलमा छौँ,’ नयाँ शक्ति पार्टी नेता गंगा श्रेष्ठले भने, ‘शीर्ष नेतृत्वबीच पनि पटकपटक कुराकानी भइसकेको छ । आज (आइतबार) साँझसम्म तत्काल एकता हुने वा नहुने टुङ्गो लाग्छ ।’
नेतृत्वसम्बन्धी नयाँ मोडल पनि हुन सक्नेबारे पनि छलफल भएको उनले बताए । केही दिनयता वार्ता समितिको बैठक दैनिकजस्तो बसेको उनको भनाई छ ।
‘नेतृत्व र नामकै बारेमा छलफल चलेको छ, तर टुंगिएको छैन,’ श्रेष्ठले भने, ‘हामीले नयाँ शक्तिका तर्फबाट डा. बाबुराम भट्टराई अध्यक्ष हुनुपर्ने प्रस्ताव गरेका छौँ, फोरमका तर्फबाट उहाँहरुले उपेन्द्रजीलाई अध्यक्षका रुपमा प्रस्ताव गर्नुभएको छ तर टुङ्गिएको छैन।’
नयाँ शक्तिका एक नेताका अनुसार डा. भट्टराईलाई संयोजक र उपेन्द्रलाई अध्यक्ष बनाएर पार्टी एकता गर्नेबारे पनि कुरा भइरहेको छ। दुई पार्टी नै आइतबारै साँझसम्म कुनै न कुनै निष्कर्षमा पुग्ने सोचमा छन्।
‘आज बेलुकासम्म टुंगिन्छ किनभने भोलि हाम्रो (नयाँ शक्ति पार्टीको) केन्द्रीय समितिको बैठक डाकिएको छ। बैठकअघि नै हामीले यो विषयलाई टुङ्ग्याउन चाहन्छौँ,’ श्रेष्ठले भने। नयाँ शक्तिले केन्द्रीय समिति र त्यसपछि केन्द्रीय परिषदको बैठक पनि बोलाएको छ।
प्रतिक्रिया