भरतपुर  मुद्दा आज पनि टुंगिएन, सोमबार पनि सुनुवार्इ

भरतपुर  मुद्दा आज पनि टुंगिएन, सोमबार पनि सुनुवार्इ


भरतपुर महानगरपालिका वडा नम्बर १९ मा मतपत्र च्यातिएको विषयमा सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ आज (आइतबार) पनि सकिएन । भरतपुर महानगरपालिका वडा नं १९ मा मतपत्र च्यातिएपछि पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा सोही वडाका एमालेका स्थानीय नेता गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले रिट दायर गरेका थिए ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र ओमप्रकाश मिश्रको इजलाशमा तोकिएको उक्त मुद्दालार्इ हेर्दाहेर्दैमा राखिएको छ । मुद्दाको पेशी भोलि (सोमबार) लार्इ तोकिएको छ । आइतबार रिट निवेदकका तर्फबाट अधिवक्ताहरू चन्द्रकान्त ज्ञवाली, विजयकान्त मैनाली, हरि उप्रेती, बाबुराम दाहाल, हरि फुयाँल, खिमलाल देवकोटा तथा गोविन्द बन्दीले बहस गरेका थिए ।

भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा ९० वटा मतपत्र च्यातिएको पाइएको थियो । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा च्यातिएको मतपत्र यसअघि नै सर्वोच्चमा बुझाइएको छ । सर्वाेच्चको आदेशबमोजिम भरतपुरबाट मतपत्र निकालेर सोझै काठमाडौं ल्याइएको थियो ।

च्यातिएका मतपत्र, मतगणना स्थगित गरेको मुचुल्का, मतगणना स्थगनको सूचना, निर्वाचन आयोगलाई बुझाईएको प्रतिवेदन, च्यातिएको मतपत्र गणना गरेको मुचुल्का र च्यातिएका मतपत्र गणना गरेर ल्याइएको थियो ।

भरतपुर महानगरपालिका वडा नं. १९ को मतगणना जारी रहेको बेला मतपत्र च्यातिएको थियो । महानगरका २९ वटा मध्ये २७ वटाको गणना सम्पन्न भएको छ । वडा नम्बर १९ को मतपत्र निर्वाचन आयोगले बदर गरी पुनः मतदानको निर्णय गरेपछि यो विषय सर्वाेच्चमा पुगेको हो । सर्वाेच्चले अहिले कुनै काम नगर्नु भनेकाले सवै प्रक्रिया अवरुद्ध छ ।

भरतपुर महानगरपालिका वडा नं. १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा सोही वडाका एमालेका स्थानीय नेता गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले रिट दायर गरेका थिए ।

निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गराउने गरि गरेको निर्णयका विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो । निर्वाचन आयोगको निर्णय गैर संवैधानिक, पूर्वाग्रहपूर्ण रहेको उल्लेख गर्दै रिट दायर गरिएको थियो ।

हुँदै नभएको तथ्यलाई तोडमोड गरी सत्तापक्षका उमेदवार जिताउने योजना रहेको पनि रिटमा उल्लेख गरिएको थियो । मतपत्र च्यातिएको करिब एकसातापछि निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतगणना गराउन जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको थियो ।