बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता घोषणा गर्ने तयारी चलिरहेकै बेला नयाँ शक्ति पार्टीमा विवाद सुरु भएको छ । नयाँ शक्तिका नेताहरुले यथास्थितिमा पार्टी एकता हुन नसक्ने भन्दै जबर्जस्ती गरिए विद्रोह गर्ने चेतावनी दिएका हुन् ।
आर्थिक विभाग प्रमुख सुनिल खड्कासहितका नेताहरुले कुनै पनि हालतमा उपेन्द्र यादवलाई पार्टी अध्यक्ष नसकिने बताएका छन् । सो पार्टीका केही नेताहरुले पार्टी एकतापछि उपेन्द्र यादवलाई अध्यक्ष बनाउने तयारी गरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
‘वर्तमान अवस्थामा पार्टी एक हुन सक्दैन र उपेन्द्र यादवजीलाई पार्टीको अध्यक्ष स्विकार्न पनि सकिनँ । पार्टीको पहिलो अधिवेशन नै नभई यदि यस्तो निर्णय गरिनु गलत हो, खड्काले भने, पार्टीले जिम्मेवारी दिएका खण्डमा आफैं नेतृत्व लिन तयार छु ।’
अब केही प्राविधिक कुरा मात्र टुंगो लगाउन बाँकी छ जो अध्यक्षस्तरमा टुंगो लगाउने नयाँ शक्ति पार्टी स्रोतले जनाएको छ । एकताका विषयलाई लिएर नयाँ शक्तिभित्र विवाद देखिए पनि एकीकरणको लागि दुवै पक्षबाट गठन भएको वार्ता टोलीले भने आ–आफ्नो पार्टीमा प्रतिवेदन बुझाइसकेका छन् ।
एकता प्रक्रिया तत्कालका लागि लगभग अन्त्य
यसैबीच, नयाँशक्ति पार्टी नेपाल र संघीय समाजवादी पार्टीबीच हुने भनिएको पार्टी एकता प्रक्रिया तत्कालका लागि लगभग अन्त्य भएको समाचार प्राप्त भएको छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको निवासमा आयोजित छलफलमा सहमति जुट्न नसकेपछि नयाँ शक्ति पार्टीका नेताहरु तत्काल फोरमसँग एकता नगर्ने निश्कर्षमा पुगेका छन् ।
नयाँशक्ति स्रोतका अनुसार शनिबारसम्म जसरी भए पनि उपेन्द्र यादवसँग पार्टी एकता गर्नुपर्छ भन्ने अडान राखेका संयोजक डा. बाबुराम भट्टराई पनि आइतबार उपेन्द्र यादवसँगको छलफलपछि निराश बनेका छन् । आइतबारको छलफलपछि डा. भट्टराईसमेत अब एकता नगरौं भन्दै ‘ब्याक’ फर्केको स्रोतले बतायो ।
‘फोरमसँगको एकता वार्ता सफल हुन सकेन,’ नयाँशक्ति पार्टीका एक नेताले भने, ‘वार्ताको ढोका बन्द नगरिए पनि अब तत्काल उहाँहरुसँग पार्टी एकता नहुने निश्कर्षमा पुगिएको छ, एजेण्डामा संयुक्त मोर्चा बनाएर चाहिँ अघि बढ्न सकिन्छ ।’
प्रतिक्रिया