पटक पटक सरिसकेको भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी मामलाको सुनुवाइ फेरि सोमबारको लागि सरेको छ । न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा आज सुनुवाइ भएर नसकिएपछि सोमबारका लागि हेर्दाहेर्दैमा सारिएको हो ।
आइतबार भएको सुनुवाईमा निवेदकका पक्षबाट वरिष्ठ अधिवक्ता हरि उप्रेती, रविनारायण खनाल, हरि फुयाँल, बाबुराम दाहाल, डा. चन्द्रकान्त ज्ञवाली, विजयकान्त मैनाली, गोविन्द बन्दी, ईश्वरीप्रसाद भट्टराई र खिमलाल देवकोटाले भरतपुरमा च्यातिएको ९० मत बदर गर्नुपर्ने विषयमा बहस गरेका थिए । मतपत्रको सुरक्षा गर्नुपर्ने पार्टी प्रधिनिधिबाटै मतपत्र च्यातिएको तर मतगणनास्थल भने कब्जा नगरिएको हुनाले मत बदर गर्नुपर्ने तर्क उनीहरुले प्रस्तुत गरेका थिए । निर्वाचन आयोगको कानुनको दफा ५१ (ग) ले च्यातिएको मतपत्रलाई बदर हुने व्यवस्था गरेको उनीहरुको जिकीर थियो ।
ज्ञातव्य छ, भरतपुर महानगरपालिकाको मतगणना अन्तिममा पुगेका बेला माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि निर्वाचन आयोगले वडा नं १९ मा पुनःमतदान गर्ने निर्णय गरेको थियो भने सो निर्णयका विरुद्ध अधिवक्ता तुलसी पाण्डे र वडा नं १९ का नेकपा (एमाले)का उम्मेदवार गुञ्जमान विकले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
छैठौंपटकको सुनुवाई पनि विनाफैसला सरेपछि भरतपुर महानगरपालिकाको निर्वाचन-विवादमाथिको आमजिज्ञासा थप सघन बन्न पुगेको अनुभूति गरिएको छ ।
प्रतिक्रिया