भोटेकोसीको लार्चा पुल पहिरोले भत्कायो

भोटेकोसीको लार्चा पुल पहिरोले भत्कायो


गएराती आएको पहिरोले सिन्धुपाल्चोकको लार्चा स्थित भोटेकोशी नदीको पुल भत्किएको छ । पुल भत्किएपछि यातायात आवागमन अवरुद्ध बनेको छ । फुल्पिङकट्टी र तातोपानी जोड्ने ७० मिटर लामो पक्की पुललाई ठूलाठूला ढुङ्गासहित खसेको पहिरोले भत्काएको प्रहरीले जनाएको छ ।

पुलको बीच भाग भत्किएपछि आवागमन पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको हो । यो पुल २ वर्षअघि मात्रै चिनियाँ सरकारको सहयोगमा निर्माण भएको थियो । यसअघि २०३८ मा पनि तातोपानीस्थित मितेरी पुललाई बाढीले बगाएको थियो । अविरल वर्षाकै कारण दुगुनागढीमा गएको पहिरोले सो पुल भत्काएको हो । पहिरोका कारण दुगुनाको डाँडा भास्सिएको छ र त्यसतलको लार्चाको पुल पनि पूरै भास्सिएको छ । गएरातीबाट त्यहाको डाडा भास्सिएको प्रहरीले जनाएको छ । डाडा भासिएपछि भोटेकोसी थुनिन सक्ने भय स्थानियको रहेको छ

गत असार २१ मा भोटेकोशीमा आएको पहिरोले क्षति पुगेको लार्चा पुल अहिले भने पूर्णरुपमा क्षतिग्रस्त भएको हो । वर्षाका कारण दुगुनाको भीरबाट माटो खसिरहेको छ । जसका कारण कोदारी राजमार्गमा समेत क्षति पुगेको छ । कोदारी राजमार्गका दर्जनौ स्थानमा पहिरो खसिरहेकाले र लार्चा पुल भास्सिएपछि स्थानीयमा त्रास फैलिएको छ । भोटेकोशी हाइड्रो पावरको क्षतिग्रस्त ड्यामका कारण जोखिम झन् बढेको स्थानीयको भनाइ छ ।