केन्द्र र प्रदेशमा प्रहरीको पोशाक एउटै बनाउन सुझाव

केन्द्र र प्रदेशमा प्रहरीको पोशाक एउटै बनाउन सुझाव


नेपाल प्रहरीले केन्द्र र प्रदेश प्रहरीको पोशाक एकै खालको बनाउन गृहमन्त्री जनार्दन शर्मालाई सुझाव दिएको छ । संघीय संरचनामा प्रहरीलाई कसरी लैजाने भन्नेवारे मन्त्री शर्माले  गृहमन्त्रालयमा गरेको छलफलमा प्रहरी अधिकारीहरुले यस्तो सुझाव दिएका हुन । उनीहरुले अलग–अलग पोशाक बनाउँदा केन्द्र र प्रदेश प्रहरीको मानसिकता विभाजित हुने भन्दै पोशाकमा एकरुपता ल्याउन गृहमन्त्रीलाई आग्रह गरेका छन् ।

प्रहरी नायव महानिरीक्षक भन्द माथिका अधिकृतहरुसँग मन्त्री शर्माले छलफल गरेका हुन । त्यसक्रममा प्रहरी अधिकृतहरुले आफूहरुको ३० बर्षे सेवा अवधी हटाई ६० बर्षे उमेरहद कायम गर्न सुझाव समेत दिएका छन् । छलफलमा गृहमन्त्री शर्माले प्रहरी संगठनको बृत्तिविकासको मार्गचित्र कस्तो बनाउने भन्नेवारे लिखित सुझाव दिन अधिकारीहरुलाई निर्देशन दिए ।

उनले भने,‘कार्यसम्पादन मुल्याँकनलाई बैज्ञानिक बनाउन, बढुवा प्रक्रियालाई निष्पक्ष बनाउन के गर्नुपर्छ? पारदर्शीता कसरी सम्भव छ ? लिखित सुझाव दिनुहोस ।’ तपाईँहरु आफ्नो संगठन कस्तो बनाउन चाहनुहुन्छ उनले भने,‘सरुवामा क्यालेण्डरको कुरा आएको छ, कस्तो क्यालेण्डर बनाएपछी हामी सवैले आफ्नो प्रस्ट मार्गचित्र देख्न सक्छौं, आ–आफ्नो तरिकाले त्यो सुझाव सिधै मलाई दिनुहोस।’ मन्त्री शर्माले सूचना र डाटा ब्यवस्थित गर्नका लागि प्रहरीलाई प्रादेशीक संरचनामा लैजाँदा आवश्यक साधनस्रोत र जनशक्तिको अवस्था र आवश्यकतावारे योजना बनाउन पनि निर्देशन दिए ।