प्रधानमन्त्री शेरबहादुर देउवाले सम्भवत मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । कांग्रेस केन्द्रीय समिति बैठक सोमाबर पनि जारी रहेकाले मन्त्रीमण्डल विस्तार गर्न नसकिएको बताइएको छ । सरकार गठन भएको डेढ महिना भइसक्दा समेत सरकार विस्तार गर्न नसकेको भन्दै आलोचना खेपेका प्रधानमन्त्री देउवाले मंगलबार आधा दर्जनभन्दा बढीलाई राज्यमन्त्रीको जिम्मेवारी दिएर भएपनि मन्त्रिपरिषद् विस्तार गर्न लागेको बालुबाटार स्रोतले जनाएको छ ।
उनलाई आइतबार माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भेटेर छिटो विस्तार गर्न आग्रह गरेपछि मंगलबार गरिने बताएका थिए । संविधान संशोधन प्रक्रियामा जानुअघि राजपा, राप्रपा, संघीय समाजवादी फोरमलगायत दललाई पनि समावेश गर्न प्रयास गर्नुपर्ने भएकाले ढिलाइ भएको थियो ।
कांग्रेस नेता रामचन्द्र पौडेल पक्षबाट मन्त्री हुनेको नाम पनि पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई बुझाइ सकेका छन् । सो सूचीमा बलबहादुर केसी, रामकृष्ण यादव, कमला पन्त, बद्री पाण्डेको नाम समावेश भएको छ । यस्तै, मोहनबहादुर बस्नेत र भीमसेनदास प्रधान क्रमशः खुमबहादुर र सिटौला पक्षबाट मन्त्री बन्ने सूचीमा रहेका छन् । प्रधानमन्त्री देउवाले आफ्नो गुटबाट अर्जुन जोशी, वीरबहादुर बलायर, अम्बिका बस्नेत र मिन विश्वकर्मालाई मन्त्री बनाउने तयारी गरिएको छ ।
यसैगरी, माओवादी केन्द्रका अध्यक्ष दाहालले आफ्नो पार्टीबाट मन्त्री हुनेको नाम प्रधानमन्त्री देउवालाई बुझाइसकेको समेत जनाएका छन् । माओवादी केन्द्रबाट महेन्द्रबहादुर शाही, सीता नेपाली, गिरिराजमणि पोखरेल, शिवकुमार मण्डल, श्यामकुमार श्रेष्ठ, टेकराज बस्नेत, आशा कोइराला मन्त्रीको सूचीमा पठाइएको छ । शाही ऊर्जा, पोखरेल स्वास्थ्य, श्रेष्ठ सामान्य प्रशासन, मण्डल सिँचाइ, बस्नेत कृषि विकास, नेपाली महिला, बालबालिका तथा समाज कल्याणमन्त्रीकालागि माओबादी केन्द्रले सिफारीस गरेको बुझिएको छ ।
कोइरालालाई कुन मन्त्रालय दिने भन्ने सहमति नभएकाले त्यो टुंगो लागाएर सिफारीस गर्ने माओबादी श्रोतले जनाएकोे छ । विजयकुमार गच्छदार नेतृत्वको नेपाल फोरम लोकतान्त्रिकबाट जितेन्द्र देव र गोपाल दहित मन्त्री बन्दैछछन् । देव पर्यटन र दहित भूमिसुधार मन्त्री बन्ने भएका छन् ।
प्रतिक्रिया