कोरियन ईपीएस परीक्षामा १० हजार दुई सय उत्तीर्ण

कोरियन ईपीएस परीक्षामा १० हजार दुई सय उत्तीर्ण


रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०१८ का लागि लिइएको कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

यो परीक्षामा ७५ हजार ५८० जनाले आवेदन दिएका थिए भने ६८ हजार बढीले परीक्षा दिएका थिए । भाषा परीक्षामा सहभागीमध्ये १० हजार २०० जना मात्र उत्तीर्ण भएका छन् । बाँकी ५८ हजार युवा असफलको सूचीमा परेका छन् । ९० प्रतिशतभन्दा बढी सही उत्तर दिने परीक्षार्थी कोरिया जाने आशामा छन् ।

ईपीएस कोरिया शाखाले मंगलबार नतिजा सार्वजनिक गरेको हो । प्रकाशित नतिजा ईपीएस कोरिया शाखा, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग र कोरिया सरकारको आधिकारिक वेबसाइटमा हेर्न सकिन्छ । यो परीक्षामा कृषि क्षेत्रमा ६ हजार २०० र उत्पादनमा ४ हजार उत्तीर्ण भए । परीक्षामा ९ हजार ७९६ महिला र ६५ हजार ७८४ पुरुषले आवेदन दिएका थिए ।

ईपीएस कोरिया शाखाका शाखा अधिकृत शोभाकर भण्डारीका अनुसार उत्तीर्ण परीक्षार्थीको मेडिकललगायतका प्रक्रिया आगामी फेब्रुअरीबाट हुनेछ । पास भएकालाई रोस्टर सूचीमा राखेर श्रम सम्झौता गरिने छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष तीन गुणा बढी परीक्षार्थी भाषा परीक्षामा पास हुँदैछन् । गत वर्ष भने ३ हजार ५ सय युवाले कोरिया भाषा परीक्षा उत्तीर्ण गरेका थिए ।

कोरियाली भाषा सिक्ने र कोरिया जाने उद्देश्यले उपत्यकालगायत मुलुकका विभिन्न शहरमा विद्यार्थीहरूको घुइँचो भयो । ७५ हजार बढीले फाराम भरे । तर, पुराना पास भएका झण्डै ६ हजार ५ सय परीक्षार्थी कोरिया जान बाँकी रहेका छन् । भाषा परीक्षा पास गर्ने बित्तिकै रोजगारीको ग्यारेन्टी नहुने ईपीएस शाखाका शाखा अधिकृत भण्डारी बताउँछन् । उनी भन्छन्, “भाषा परीक्षा पास गर्ने बित्तिकै हुँदैन, रोजगारदाताको छनोटमा पनि पर्नुपर्छ ।”

सन् ०१५ मा ईपीएस परीक्षा पास गरेका परीक्षार्थी आगामी १७ डिसेम्बर सन् ०१७ सम्म जान सक्ने सम्भावना हुन्छ । सन् ०१५ मा ८ हजार ४ सय ९० परीक्षार्थी पास भएका थिए । परीक्षा उत्तीर्ण गरेको २ वर्षसम्म म्याद रहने अर्थात् कोरिया जान सक्ने सम्भावना रहेकाले सन् ०१५ मा पास गरेका र सन् ०१६ मा पास भएका झण्डै ६ हजार ५ सय परीक्षार्थी अझै कोरिया जाने बाटो हेरिरहेको ईपीएस शाखाका शाखा अधिकृत भण्डारीले बताउँछन् ।