झनै सङ्कटमा तातोपानी

झनै सङ्कटमा तातोपानी


– किशोर बुढाथोकी

सिन्धुपाल्चोकको फुल्पिङकट्टीमा रहेको मोटरेवल पुल पहिरोले भत्काएपछि सीमागाउँ तातोपानीस“ग सम्पर्क टुटेको छ । पहिरो र बाढीको जोखिम बढेपछि तातोपानी सङ्कटमा परेको हो । सीमामा रहेका संरचना क्षतिग्रस्त हुन थालेपछि सीमागाउ“ तातोपानीको भविष्य धरापमा परेको छ ।

भूकम्पपछि सुनसानप्रायः रहँदै आएको तातोपानी नाका लार्चापुल भत्किएपछि थप सङ्कटमा छ । गत आइतबार अविरल वर्षाले दुगुना डा“डो भास्सिएर आएको पहिरोले लार्चा मोटरेवल पुल भत्काएको हो । चीन सरकारले ०३८ सालमा बनाएको तातोपानी जोड्ने पुल भत्किएपछि कोदारी राजमार्ग जोड्ने माध्यम पूर्ण रूपमा बन्द भएको छ ।

प्रत्यक्षदर्शी पेमा डोल्मा तामाङका अनुसार आइतबार सा“झ आठ बजेतिर गाउ“ नै थर्कने गरी दुगुनाको पहरो फुट्दै आएको थियो । दिउ“सोदेखि सुख्खा पहिरो झरिरहेको भएपनि भिषण वर्षातले ढिस्का नै खस्न थालेको थियो । ‘चट्याङ हानेजस्तै पहिरो खसेर पुल भास्सिन थाल्यो,’ सशस्त्र प्रहरीस“गै घटनास्थल पुगेकी पेमाडोल्माले भनिन्, ‘खसेको पुलको भाग केही कोसीमा बा“की थियो, खसेको ढिस्को त्यही परेपछि केही समय भोटेकोसी थुनिएको थियो ।’

‘२० मिनेट कोशी थुनिएपछि सबैतिर खैलाबैला मच्चियो,’ उनले भनिन्, ‘एकैछिनमा बिस्तारै आफै कोसी खुल्न थालेपछि अवस्था सामान्य बनेको थियो ।’ भूकम्पले चर्काएपछि चीन सरकारले पुलको तल्लो भागमा फलामको संरचना बनाएर अड्याएको थियो । पुल कोसीमा खसेपछि सीमा तातोपानी नाका जोड्ने करिब ५ किलोमिटर सडक ठप्प भएको छ । तातोपानीका बिरामी र यात्रुले आवतजावत गर्ने अन्य बाटो नह“ुदा पहिरोको जोखिम मोलेर तीन घण्टा पैदल दुगुनाभिर हुँदै आउने गरेका छन् ।

भौतिक संरचनाको तयारी भएस“गै नाका खोल्ने उत्साहमा बसिरहेका स्थानीयमा नाका जोड्ने पुल भास्सिएपछि ठूलो धक्का लागेको छ । २०५३ साल साउन ७ गते सोही स्थानको भैरवकुण्ड खोलामा बाढीस“गै पहिरो खस्दा यसरी नै लार्चा पुल बगाएको थियो । ‘सो साउनको भेलले गर्दा ५४ जनाको मृत्यु भएको थियो,’ तातोपानीका पूर्वअध्यक्ष अमृतकुमार खड्काले भने, ‘त्यो घटनाको २१ वर्ष पुगेकै दिन यो पहिरो गएको छ ।’ उनले गएको वर्षको असार २१ मा आएको भोटेकोसी बाढीले लार्चा मोटरबेल पुलको बिचमा क्षति पु¥याएको सुनाए ।

नाका नखुलेकाले शुन्यमा झरेको तातोपानी नाकाको अवस्था दैनिक धरापमा पर्दै गइरहेको छ । पहिरोले विस्थापित भएका स्थानीयले त्रासमा तातोपानी छोडेर अन्य स्थानमा सर्न थालेका छन् । २०७३ असार २१ मा आएको भोटेकोसी बाढीले तहसनहस बनाएको सीमागाउ“ तग्रिंने अवस्थामा पुगेको थियो । हाल पुल बगाएपछि झनै समस्या बनेको उनले जनाए ।

राजमार्गको विभिन्न स्थानमा पहिरो गइरहेको छ । थप पुल भास्सिएर कोसीमा मिसिएपछि सबैमा बाढीको त्रास फैलिएको छ । ‘दिनरात नभनी पालैपालो जाग्राम बस्न थालेका छौ,’ लार्चाकी स्थानीय फुलकी शेर्पाले भनिन्,‘बर्खाको समयमा के हुने हो थाहा हुन्न ?’

‘अझै पहिरोको ढिस्को कोसीमा खसिरहेको छ, यसले कोसी थुनिएर आउने बाढीको जोखिम बढाएको छ,’ सीमास्थित सशस्त्र प्रहरी बलका डीएसपी विमल डाँगीले भने, ‘पुलको संरचनाले भोटेकोसी नदी आधा ढाकेको छ, त्यो स्थान सा“घुरो भएकोले बाढीको जोखिम बढेको हो ।’

पुल बगाउँदा लार्चामाथिका बासिन्दा विचल्लीमा परेका छन् । आउजाउका लागि अर्काे वैकल्पिक सडक नहुँदा लार्चामाथिका बासिन्दामा समस्या मात्रै हैन त्रासमा समेत छन् । लार्चामाथिको दस किलो, बोक्चेन, तातोपानी बजार, कोदारी, लिपिङमा रहेका स्थानीयको जीवनयापन असहज बन्नेछ । सवारी आवागमन नहुने भएकाले खाद्यान्न, स्वास्थ्यउपचारमा समस्या पर्ने समाजसेवी एवं तातोपानीका पूर्व गाविस अध्यक्ष खड्काले बताए ।

तत्काल बेलिबिज्र लगाइने
घटनाको अवलोकन गर्न पुगेका प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले तत्कालै समस्याको बारेमा दैवीप्रकोप उद्धार समितिको बैठक बस्ने बताए । ‘अब चाँडै सबै समस्याको समाधानको लागि आजै बैठक बोलाएका छौं,’ सात पहिरोको जोखिम मोल्दै सुरक्षाकर्मीसँगै आएका प्रजिअ सिलवालले भने, ‘दैवी प्रकोप उद्धार समितिको बैठक बसेर निर्णय गरी बेलिब्रिज र खाद्यान्न मद्धत गरिने छ ।’

आवतजावतको लागि भएको समस्या बुझेर प्रमुख जिल्ला अधिकारीले सहि कदम चालेको भन्दै जम्मा भएका स्थानीयले हर्ष पोखेका थिए । ‘पहिरोको जोखिम मोलेर भनेपनि प्रजिअ सर यहाँसम्म दुखमा हेर्न आउनुभयो,’ भोटेकोसी गाउँपालिका फुल्पिङकट्टी हिन्दीका स्थानीय शम्भु पौडेलले भने, ‘अब चाडै बेलिब्रिज बन्ने कुराले मन हलुका भएको छ ।’ उनले प्रजिअले लार्चा पुलको अभावमा बेलिब्रिज लगाइने र खाद्यान्न समस्या टार्ने योजना रहेको सुनाएपछि सबै स्थानीयमा खुशी छाएको उनले जनाए ।

भोटेकोसी गाउ“पालिका प्रमुख राजकुमार पौडेलले भएको समस्यालाई अब चाँडै माथिल्लो निकायमा लिएर जाने बताए । ‘सबै समस्याको चाँडै समाधानमा लाग्नेछौ,’ उनले महत्वपूर्ण कामको सिलसिलामा राजधानी रहेको सुनाउँदै भने, ‘नाका र भौतिक संरचनाबारे सबै समस्या निकायसग राखेर समाधान गर्नेछांै ।’

देखिएनन् वडाकै प्रतिनिधि
ठुलो विपत्तीको सामना गरिरहेको बेला भोटेकोसी गाउँपालिका वडाका प्रतिनिधि नआएकाले स्थानीयले गुनासो गरे । प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवाल पुग्दा समस्याग्रस्त वडा न २ तातोपानी कै प्रतिनीधि गायब थिए ।

पत्रकार टिमलाई गालीगलौज गरेर ‘तिमीहरुले केही गर्न सक्दैनौ’ भनेर दुव्र्यवहार गरि आफूलाई जनताको सच्चा सेवक भन्ने नै देखिएका थिएनन् । कार्यालयमा मस्त रहने वडा न २ का अध्यक्ष दिपेन्द्रकुमार श्रेष्ठ र वडासस्यहरु विपत्तिको समयमा कतै निक्लिएका देखिएनन् ।

आफ्नो ज्यान हत्केलामा राखेर कडा सुरक्षा अपनाइरहेका सुरक्षाकर्मी र ज्यान माया मारेर रिर्पोटिङमा आएका सञ्चारकर्मीको टोली र प्रजिअ पुग्दा बाटोमा गइरहेका बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पा भेटिएका थिए । उनले यस्तो आपतमा उल्टै कसैले केही मद्धत नगरेको दुःख लागेको सुनाए । ‘मलाई दुःख लागेको छ यस्तो आपतमा यत्रा नेता, जनप्रतिनिधि कहाँ गए ?’ उनले जनतालाई दु?ख र समस्या पर्दा जनप्रतिनिधि उपस्थित हुनुपर्ने बताए ।

‘यहाँ भएका जनप्रतिनीधि कहाँ गएछन् कुन्नी, त्यत्रो घटनामा हुँदा समेत वास्ता छैन,’ एक स्थानीयले भने, ‘आक्रोश पोखेर जनताको सेवक हुँ भन्न जानेकाले आपतमा सहयोग गरे कति राम्रो हुन्थ्यो ।’

जोखिम उस्तै
कुनै मानवीय क्षति नभएपनि पहिरो अझै झरिरहेको र सुरक्षा गस्ती पठाइसकेको इलाका प्रहरी बाह्रबिसेले जनाएको छ । बाह्रबिसेदेखि तातोपानीसम्म २६ किलोमिटर सडकखण्डमा पहिरोले अवरोध सिर्जना गरिरहेको छ । पहिरो लाग्ने क्रम बढिरहेकाले तातोपानीदेखि दोलालघाटसम्मका स्थानीयलाई सचेत भएर नदीदेखि एक किलोमिटर पर रहन सूचना जारी गरिएको थियो । हालै सबै स्थिति सामान्य भइसकेको मान्न नसकिने इलाका प्रहरी बाह्रबिसेका प्रमुख प्रहरी निरीक्षक पञ्चकुमार बाखुले बताए ।

‘सीमाका स्थानीय बाढीको त्रासले निदाउन सकेका छैनन्,’ प्रहरी निरीक्षक बाखुले भने, ‘एक्कासी पहिरोले पुल भास्सिएपछि सबैतिर बाढीको डर बढेको छ ।’ उनले सीमागाउ“ तातोपानीदेखि बाह्रबिसे, खाडीचौरसम्मका स्थानीय जाग्राम बस्न थालेको सुनाए ।