नेपाल तेक्वान्दो सङ्घले मुख्य प्रशिक्षक ध्रुवबहादुर गुरुङसँग स्पष्टीकरण माग गरेको छ । उक्त स्पष्टीकरण माग गरिएको पत्रमा सङ्घले गुरुङलाई दुई तरिकाले सम्बोधन गरेको छ । खामको आवरणमाथि ध्रुव गुरुङज्यू, मुख्य तेक्वान्दो प्रशिक्षक लेखिएको छ । त्यस्तै, भित्र राखिएको पत्रमा श्री ध्रुवबहादुर गुरुङ डोजाङ प्रमुख, बौद्ध तेक्वान्दो डोजाङ लेखिएको छ । उक्त पत्रमा तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशमशेर राणाले हस्ताक्षर गरेका छन् ।
स्पष्टीकरण सोधिएको एउटै पत्रमा दुईवटा सम्बोधन गरेपछि तेक्वान्दो सङ्घले कुन ध्रुव गुरुङसँग स्पष्टीकरण मागेको हो त्यो थाहा हुन सकेको छैन । ध्रुवबहादुर गुरुङ राष्ट्रिय खेलकुद परिषद्ले नियुक्ति गरेका तेक्वान्दोका मुख्य प्रशिक्षक हुन् । त्यस्तै, पत्रमा बौद्ध तेक्वान्दो डोजाङ भनी सम्बोधन गरिए पनि बौद्ध डोजाङ र त्यहाँ ध्रुवबहादुर गुरुङ नामको कोही पनि व्यक्ति नभएको थाहा भएको छ ।
यसरी के आधारमा तेक्वान्दो सङ्घले गुरुङलाई दुई तरिकाले सम्बोधन ग¥यो, त्यो अहिले चर्चाको विषय बनेको छ । प्राप्त जानकारीअनुसार गुरुङले तेक्वान्दो सङ्घका महासचिव दीपराज गुरुङका विरुद्धमा राखेपमा उजुरी दिएपछि गुरुङलाई अपमान गर्न सङ्घले यसरी पत्राचार गरेको अनुमान गरिएको छ ।
स्मरणीय छ, गत ०७४ असार १४ गते घटना र विचारमा प्रकाशित अन्तर्वार्तामा मुख्य प्रशिक्षक गुरुङले तेक्वान्दो सङ्घ र महासचिव गुरुङका विरुद्धमा आवाज उठाएका थिए । नेपाली खेलकुदको इतिहासमा तेक्वान्दो सङ्घ र महासचिव दीपराज गुरुङका विरुद्धमा आवाज उठाउने उनी पहिलो व्यक्ति हुन् । दीपराजले विगत २८ वर्षदेखि तेक्वान्दोमा तानाशाही शासन चलाउँदै आएका छन् । उनको विरुद्धमा अहिलेसम्म कुनै खेलाडी, प्रशिक्षक र पदाधिकारीले ‘चुँ’समेत गर्न सकेको छैन । जसले गुरुङको विरुद्धमा आवाज उठायो त्यसको पत्तासाफ हुने सन्त्रासले अहिलेसम्म कसैले आवाज नउठाएको तेक्वान्दोका एक वरिष्ठ प्रशिक्षकले बताएका छन् ।
मुख्य प्रशिक्षक ध्रुवबहादुर गुरुङले विभिन्न सङ्गीन आरोप लगाउँदै गत असारमा तेक्वान्दोका महासचिव गुरुङविरुद्ध उजुरी दर्ता गरेका थिए । गुरुङकै उजुरीको आधार गत साता राखेपले छानबिन समिति गठन गरेको थियो ।
प्रतिक्रिया