फोरमसँग एकता प्रक्रिया तोड्दै बाबुरामले भने- प्रचण्डको एकता-सपना पनि असम्भव !

फोरमसँग एकता प्रक्रिया तोड्दै बाबुरामले भने- प्रचण्डको एकता-सपना पनि असम्भव !


सिद्धान्त, पार्टीको नाम, संगठन संरचनालगायतका विषयमा कुरा नमिल्दा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँगको एकता प्रक्रिया अन्त्य भएको जनाएको नयाँ शक्ति पार्टी नेपालले आफ्नो कार्यसमिति समेत विघटना गरेको छ । फुट र गुटको शिकार बनेर कमजोर हुन पुगेको सो दलले डा. बाबुराम भट्टराईको संयोजकत्वमा प्रथम महाधिवेशन आयोजक कमिटी गठन गरेको जनाएको छ ।

पार्टीको केन्द्रीय कार्यसमिति र संघीय परिषद्को बैठकका निर्णय सार्वजनिक गर्न राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा संयोजक डा. भट्टराईले आगामी प्रादेशिक र संघीय निर्वाचनपछि उपयुक्त समयमा महाधिवेशन आयोजना गर्ने जानकारी दिए । महाधिवेशन आयोजक समितिमा बढीमा १५१ सदस्य रहने र सदस्यहरुको टुंगो लगाउने जिम्मा बैठकले संयोजक भट्टराईलाई नै दिएको बताइएको छ ।

सो पार्टीले चीन र भारतबीच भुटानको उत्तरी क्षेत्र दोक्लममा देखिएको विवादप्रति चिन्ता व्यक्त गर्दै भुटानको सार्वभौमसत्ताको सम्मान गर्न र शान्तिपूर्ण तवरले समस्याको समाधान गर्न दुवै देशलाई आह्वान गरेको छ भने प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक संसद् अनिवार्य भएको ठहर गर्दै यी मुद्दाको पक्षमा रहेका शक्ति र दलहरुबीच बृहत्तर कार्यगत एकता कायम गरी राष्ट्रिय जनआन्दोलन गर्नुपर्ने निष्कर्ष पार्टी बैठकले निकालेको छ ।

पत्रकार सम्मेलनमा डा. भट्टराईले नेकपा (माओवादी केन्द्र)सँग एकताको कुनै सम्भावना नरहेको जनाएका थिए । प्रचण्डले एकताको सपना देखे पनि त्यो सम्भव नभएको भट्टराईले ठोकुवा गरे ।