प्याउलीको घटना सिआईबीद्वारा अनुसन्धान हुने !

प्याउलीको घटना सिआईबीद्वारा अनुसन्धान हुने !


अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले असार १० गते भोजपुरको अरुण गाउँपालिका–३ प्याउलीमा तीन बालबालिकाको हत्याको आशङ्का भएको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआइबी’ले गर्ने बताएका छन् । उक्त घटनाले आफूलाई निकै स्तब्ध तुल्याएको भन्दै अर्थमन्त्री कार्कीले घटनाको थप सत्यतथ्य पत्ता लगाउनका लागि सिआईबीको विशेष टोली खटाउन आफूले गृहसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिइसकेको बताए ।

भोजपुरे सेवा समाज, काठमाडौँले शनिबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै मन्त्री कार्कीले प्याउलीमा भएको दुःखद् घटनाले भोजपुरेहरूलाई शोकाकुल बनाएकाले यसको चाँडो सत्यतथ्य अनुसन्धान गर्न निरन्तर कुराकानी भइरहेको जानकारी दिए । मन्त्री कार्कीले आफ्नो सम्पूर्ण दृष्टि आर्थिक समृद्धिमा केन्द्रित रहेको बताउँदै भने ‘नेपालमा निर्यातको तुलनामा आयात निकै बढी छ । व्यापार घाटाको मुख्य जड नै यही हो । त्यसैले निर्यात बढाउनका लागि हालसालै सार्वजनिक गरिएको मौद्रिक नीतिले कृषिको उत्पादन र ऊर्जा क्षेत्रको उत्पादन, विकास र विस्तारलाई प्राथमिकतामा राखेको छ । यसले पनि व्यापार घाटा सन्तुलन गर्न मद्दत गर्छ ।’

कार्कीले मुलुकलाई समृद्ध बनाउनका लागि उद्योग कलकारखानाको विकास, रोजगारीमा वृद्धि र ऊर्जा, कृषि र पर्यटन क्षेत्रको विकास नै महत्वपूर्ण कुरा रहेकाले सरकारको ध्यान यसैमा केन्द्रित भएको बताए । उनले लक्ष्यअनुसारकै आर्थिक बृद्धिदर हासिल गर्न सरकार सफल हुने विश्वास व्यक्त गरे । मन्त्री कार्की भोजपुरको विकासका लागि कुनै कसर बाँकी नराख्ने भन्दै पूर्व र उत्तरी क्षेत्रमा आफ्नै पहलमा विद्युतीकरण भएको र अब हतुवागढी–घोरेटार लगायतका क्षेत्रमा पनि चाँडै बिजुली बाल्ने उद्घोष गरे ।

उनले मध्यपहाडी लोकमार्गअन्तर्गतको लेगुवा–भोजपुर सडक खण्डमा गुणस्तरीय र व्यवस्थित रुपले कालोपत्रे गर्ने काम द्रुत गतिमा अघि बढाई नियमित रूपमा त्यसको प्रगति विवरण आफूलाई पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको बताए । यसैगरी उनले भोजपुरबाट संखुवासभा हुँदै तराई जोड्ने कनेक्टिभिटीको मुख्य माध्यमको रुपमा रहेको अरुणको लम्सुवाघाटको पुल चाँडै निर्माण गर्नका लागि आफू निरन्तर गृहकार्यमा रहेको जानकारी गराए । उनले समृद्ध भोजपुर नै आफ्नो चाहना रहेकाले यसमा सबैले आ–आफ्नो ठाउँबाट लागिपर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले मन्त्री कार्की जलस्रोत मन्त्री हुँदा आफूले सचिवको भूमिकामा सँगै काम गर्ने अवसर पाएको भन्दै उहाँको कार्यशैलीका कारण सफल अर्थमन्त्रीको रूपमा इतिहासमा नाम लेखाउने बताए । कोइरालाले कार्कीले अरुण तेस्रो र माथिल्लो कर्णाली जलविद्युत आयोजनालाई खुल्ला प्रतिस्पर्धाबाट अघि बढाउन र माथिल्लो तामाकोशी जलविद्युत आयोजनालाई स्वदेशी लगानीमै उत्पादन गर्नका लागि खेलेको भूमिकालाई इतिहासले कदर गर्ने बताए ।

कार्यक्रममा समाजका अध्यक्ष पासाङदोर्ची शेर्पाले मन्त्री कार्कीले भोजपुरको विकासमा खेलेको भूमिकालाई शब्दले प्रशंसा गरेर साध्य नहुने बताए ।
कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइराला, अल्ट्रा धाविका मीरा राई, नेपालका लागि जापानका राजदूत मासासी ओगावा, शिक्षासेवी गुरुप्रसाद राई, राजेश न्यौपाने, डा. विष्णुप्रसाद गौतम, भविन्द्र खत्री, डोमा शेर्पा ‘पिनासा’ र तिम्मा सरोकार समाज, काठमाडौँलाई समाज सेवाका विविधि क्षेत्रमा योगदान पु¥याएबापत सम्मान गरिएको थियो । उक्त अवसरमा समाजको वेभसाइटको पनि शुभारम्भ गरिएको थियो ।

परिषद् अध्यक्ष दयाकृष्ण न्यौपानेले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको कार्यक्रममा सांसदहरू जयन्ती राई, तारादेवी राई, मोहन राई लगायत भोजपुरका प्राज्ञ, साहित्यकार, कलाकार, समाजसेवीलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।