कैदीबन्दीको निःशुल्क स्वास्थ्य परीक्षण

कैदीबन्दीको निःशुल्क स्वास्थ्य परीक्षण


– छविलाल बगाले

लमजुङ जिल्ला कारागारका कैदीबन्दीको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । विभिन्न संघसंस्थाको पहलमा उनीहरुको स्वास्थ्य परीक्षण गराइएको हो ।

विगत लामो समयदेखि स्वास्थ्य परीक्षणबाट बञ्चित भएका उनिहरुको शनिबार सामान्य स्वास्थ्य जाँच र दाँतसम्बन्धी जाँच गरिएको कारागार प्रमुख काजीमान सुनारले बताए । ‘जिल्ला जनस्वास्थ्य कार्यालय, लमजुङ जिल्ला अस्पताल र रोट्रयाक क्लव अफ लमजुङको संयुक्त प्रयासमा कारागारका बन्दीको स्वास्थ्य परिक्षण गरिएको हो,’ प्रमुख सुनारले भने, ‘हामीले बेला बेलामा उनिहरुको स्वास्थ्य जाँच गराउँदै आएका छौँ ।’

कारागारमा नियमित रुपमा स्वास्थ्य चेकजाँचका शिविरहरु गरिनुपर्नेमा नियमित नहुँदा उच्च रक्तचाप, ग्यास्ट्राइटिस, छाला, दाँत, मधुमेह र आँखासम्बन्धी समस्या बढी पाइएको डा. हिक्मत भण्डारीले बताए । साँघुरो कारागारमा खाँदिएर बस्नुपर्दा कैदीबन्दीमा एकै किसिमका रोगको बढी संक्रमण भएको पाइएको जिल्ला अस्पतालका अर्का डा.राकेश श्रेष्ठले बताए ।

कारागारमा बन्दी जीवन बिताइहरुका नागरिकहरुको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले अब हरेक तीन महिनामा स्वास्थ्य जाँच गराइरहने प्रतिबद्धता जनाएका छन् । उनले त्यसका लागि जिल्ला अस्पताल, जनस्वास्थ्य र अन्य सामाजिक संघ संघसंस्थाहरुलाई आग्रह गरेका छन् । यसका साथै उनले कारागारमा टेलिभिजन, पत्रपत्रिका र पुस्तकको पनि ब्यवस्था गर्ने बताएका छन् ।

२५ जना क्षमताको लमजुङ जिल्ला कारागारमा हाल ७ जना महिलासहित ६६ जना कैदीबन्दी रहेका छन् ।