नेतादेखि खेलाडीसम्मले गर्न थाले मानवतस्करी

नेतादेखि खेलाडीसम्मले गर्न थाले मानवतस्करी


स्वदेशमा बढ्दो बेरोजगारीको मौका उठाउदै म्यानपावर कम्पनीहरुको ठगीधन्धा नियन्त्रण हुनेभन्दापनि झन मौलाउदै गएको छ । वैदेशिक रोजगारीको आवरणमा खाडी मुलुकमा मानव तस्करी गर्ने समूह पक्राउ परिरहे पनि उनीहरूको सक्रियतामा नियन्त्रण हुन सकेको छैन । रोजगारीको प्रलोभनमा अवैध रुपमा कुबेत, दुबई पुगेर अलपत्र परेपछि उद्धारका लागि प्रहरीको सम्पर्कमा आउनेको संख्यामा पनि पछिल्लो समयमा अत्याधिक रुपमा बृद्धि भएको छ ।

प्रहरी प्रधान कार्यालयकै तथ्यांकलाई आधारमान्ने हो भने पनि यो ठगी कार्य नियन्त्रणभन्दा बाहिर गएको अनुमान लगाउन सकिन्छ । हरेक वर्ष आर्थिक अपराधको संख्या बढ्दो छ । आर्थिक वर्ष २०७३/०७४ मा आर्थिक अपराधसम्बन्धी करिब ४ सय घटना प्रहरीसमक्ष पुगेका थिए । ठगिएको रकमको बिगो अर्ब भन्दामाथी पुगेको छ । यसमा अधिकांश वैदेशिक रोजगार ठगीका घटना रहेका छन् ।

वैदेशिक रोजगारीमा पठाउने अनुमति पाएकै संस्था, ट्राभल्स सञ्चालक, शैक्षिक परामर्शदार्ता, खेलकर्मी र राजनीतिकर्मीसम्म सक्रिय रुपमा ठगी कार्यमा लागेको अनुसन्धानबाट खुलेको छ । ठगीमा सक्रिय समूहले युरोपको सपना देखाएर नक्कली भिसामा इराकसमेत पु¥याउने गरेको खुलेको छ । पछिल्लो समय युरोप र अमेरिकाको सपना देखाएर ठगी गर्नेमा समेत थप सक्रियता बढेको पाईएको छ ।  युरोप, अमेरिका पठाउने प्रलोभनमा पारेर ठगी गरेको अभियोगमा प्रहरीले विद्यार्थी राजनीतिमा सक्रिय ऋषिकेजजंग शाह, ट्राभल्स सञ्चालक जयप्रकाश बुढामगर, अखिल नेपाल फुटबल संघका पूर्वमहासचिव लोकबहादुर शाही, शैक्षिक परामर्शदाता विदुरकुमार अर्याललाई पक्राउ गरि गरेको अनुसन्धाबाट खुलेको छ । थप विवरण भने प्रहरीले गोप्य राखेको छ ।

जापानमा आकर्षक रोजगारी लगाइदिने प्रलोभनमा २३ जनासँग २ करोड ठगी गरेको अभियोग लागेका गोविन्दप्रसाद तिवारी जापानमा रहेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको रेकर्ड अनुसार वैशाख यता पोर्चुगल, क्यानडा, अस्ट्रेलिया, अमेरिका र जापान पठाउने प्रलोभन दिएर ठगी गरेका उजुरी आउनेक्रम बढेको छ । ठगीमा वैदेशिक रोजगारीमा पठाउने अनुमति नै नलिएको समूहको संख्या बढेको वैदेशिक रोजगार ठगी सम्बन्धी अनुसन्धानमा संलग्न रहेको प्रहरीको भनाई रहेको छ । महाशाखाले पोर्चुगल पठाउँछु भनेर इराक पठाउन सक्रिय ट्राभल्स एजेन्सीका सञ्चालक बुढामगरलाई पक्राउ गरि सकेको छ ।

पक्राउ परेका बुढामगर गोंगबुमा रहेको गामा ट्राभल्स एन्ड टुर्सका सञ्चालक हुन् । पोर्चुगलको लोभ देखाएर दुबई पु¥याएर त्यहाँबाट नक्कली भिसामा इराक पठाउँदा पक्राउ परी नेपाल डिर्पाेट भएकाहरूको सूचना आधारमा उनी पक्राउ परेका हुन् ।  वैदेशिक रोजगारीमा पठाउने अनुमति नपाए पनि उनले प्रतिव्यक्ति १२ लाख रुपैयाँ लिएर मासिक ८० हजार रुपैयाँ आम्दानी हुने लोभ देखाएर वैदेशिक रोजगारीमा जाने प्रयासमा रहेकााई ठगी गरेको खुलेको छ ।

परेको उजुरीका आधारमा प्रहरीले असारमा एन्फाका पूर्वमहासचिव शाहीलाई खेलाडीका नाममा क्यानडा पठाउँछु भन्दै ठगी गरेको अभियोगमा पक्राउ गरेपछि सो धन्धामा खेलाडी समेत सहभागी हुने गरेको पुष्टी भएको छ । क्यानडामा हुने फुटबल खेलमा स्पोर्टस फर अल क्लबको नाममा पठाउने प्रलोभनमा पारेर १९ लाख ठगी भएको उजुरीको आधारमा उनी पक्राउ परेका थिए ।

असारमै अमेरिका र जापान पठाउने आवरणमा एक करोड ८६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा कांग्रेस महासमिति सदस्य समेत रहेका शाह पक्राउ परेपछि सो धन्धामा दलको आबरणभित्र रहेर मानवतस्कर गर्ने डरलाग्दो प्रमाण बाहिर आएको छ । प्रहरीले शाहसहित रक्षा वैद्य, सुनील प्रजापती, महेश्वर राउतलाई पक्राउ गरेको थियो । प्रारम्भमा शाह आफैं पीडित बनेर प्रहरीको सम्पर्कमा पुगेका थिए । अनुसन्धानमा ठगीमा शाह नै संलग्न देखिएपछि उनी आफैं प्रहरी हिरासतमा पुगेका थिए ।