शाक्‍य भन्छन् : फुटपाथ अब महानगरपालिकाले हटाउँछ

शाक्‍य भन्छन् : फुटपाथ अब महानगरपालिकाले हटाउँछ


काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाको सवारी चाप कम गर्न ‘पार्किङ महल’को खाँचो रहेको बताएका छन् । उपभोक्ता हित संरक्षण मञ्चको आयोजनामा सोमबार महानगरीय ट्राफिक प्रहरी महाशाखामा भएको छलफलमा उनले सो कुरा बताएका हुन् ।

कार्यक्रममा उनले भने, ‘ठूला सवारीसाधनलाई प्रोत्साहन गर्ने महानगरपालिकाको नीति हो, अब महानगरपालिकाले फुटपाथ हटाउने, आकाशे पुल निर्माण गर्ने कामलाई उच्च प्राथमिकता दिनेछ । यस्तै उपत्यकाको सवारी चाप कम गर्न ‘पार्किङ महल’को खाँचो रहेको उनको जोड थियो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनाल उपत्यकाको ट्राफिक समस्या समाधानका लागि सबैको साथ सहयोग आवश्यक रहेको बताए । प्रमुख खनालले उपत्यकाका अधिकांश सडक खाल्टा हुँदै गएको भन्दै चाँडो खाल्टा पुर्न सम्बन्धित निकायसँग आग्रहसमेत गरे ।

सडक विभागका क्षेत्रीय निर्देशक शिवहरि सापकोटाले मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याउँदा उपत्यकाका धेरै सडकको संरचना खल्बलिएको हुँदा यसलाई चाँडो निर्माण गर्ने आफ्नो प्रमुख प्राथमिकता रहेको बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले पूर्वाधार विकास नभएसम्म उपत्यकाको ट्राफिक समस्या समाधान नहुने बताए ।

उनले ६० हजार मालबाहक सवारीसाधनका लागि छुट्टै बसपार्क आवश्यक रहेको स्पष्ट पारे। उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले उपत्यकाको ट्राफिक समस्या समाधानका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताए ।

काठमाडौँ उपत्यकाको ट्राफिक समस्या समाधान गर्न सरोकारवाला सबै पक्षको सहयोग र सहकार्यको खाँचो औँल्याउँदै वक्ताहरुले दिनदिनै चुनौतीपूर्ण बन्दै गएको उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि सडक व्यवस्थापनसम्बन्धी जनचेतनालाई अभियानकै रुपमा लैजानुपर्ने सुझाव दिए । रासस