युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै मन्त्री राजेन्द्रकुमार केसीले आफू भ्रष्ट्राचारविरोधि व्यक्ति भएको बताएका छन् । नवनियुक्त मन्त्री केसीले आफू निश्कलंक र इमान्दार भएको दाबी गर्दै मातहतका निकायमा भ्रष्टाचार र अनियमितता हुन नदिने उदघोष गरेका छन् । खेलकुदमा हुने अनियमितताको बारेमा आफूलाई सबै जानकारी भएको खुलासा गर्दै विगतमा आफूले लेखा समितिमा काम गरेको अनुभव खेलकुदमा देखाउने बताए ।
खेलकुदमा भ्रष्ट्राचार र अनियमितताले जरो गाडेको चर्चा गर्दै मन्त्री केसीले त्यो सबैको आफूले पर्दाफास गर्ने प्रतिबद्धता जनाएका छन् । खेलकुदमा खेलकुदको विकासभन्दा राजनीतिको विकास र राजनीतिक कार्यकर्ताहरूको भर्तीकेन्द्र बनेकोप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै यस्ता विकृति र विसंगतिविरुद्ध आफ्नो कदम सशक्त हुने समेत बताए । खेलकुद जस्तो रचनात्मक र सबैको साझा थलो कुनै राजनीतिक दलको पेवा हुन नसक्ने दाबीसमेत गरे ।
त्यस्तै, खेलकुदको सर्वोपरि विकासको लागि नेपाली भूगोललाई आत्मसात गर्ने र अन्तर्राष्ट्रियस्तरमा पदक जित्नका लागि सम्भावित पदक जित्ने खेलहरूको चयन गरी विशेष प्राथमिकतामा राखेर अगाडि बढ्ने बताए । नेपालको भुगोल सुहाउँदो र पदकको सम्भावना भएको खेललाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले नेपाल सरकारको ध्यान आफ्नो मन्त्रालयमा केन्द्रीत गर्ने गरी काम गर्ने वचनबद्धता प्रकट गरे ।
प्रतिक्रिया