खेलकुद परिषद् कि ‘सदाब्रतगुठी’ ?

खेलकुद परिषद् कि ‘सदाब्रतगुठी’ ?


राष्ट्रिय खेलकुद परिषद् खेलकुदका क्रियाकलाप अघिबढाएर खेल र खेलाडीको विकास गर्ने संस्था हो कि पशुपतिनाथको सदाव्रतगुठी ? खुट्याउन गाह्रो भएको छ । पशुपतिनाथको सदाव्रतगुठीले जोगी–भिखारीहरूलाई सित्तैमा खुवाउने–पियाउने गर्छ । सदाव्रत गुठीको व्यवस्था त मगन्तेहरूलाई सित्तै खुवाइपियाई गर्नकै लागि गरिएको हो । राष्ट्रिय खेलकुद परिषद्को उद्देश्य त पक्कै यस्तो होइन । तर, यतिबेला राखेपले दलका कार्यकर्तालाई ‘सदाव्रतगुठी’ नै बनेर पालनपोषण गर्दै आएको देखिन्छ । खासगरी एमाले कार्यकर्तालाई यसरी पोस्दै आएको भन्ने गुनासो खेलकुदभित्रै सुनिन्छ । राखेपले एमालेका कार्यकर्तालाई अवैतनिक रुपमा नियुक्ति दिएर उनीहरूको भरणपोषण गर्दै आएको स्रोतको दावी छ ।

राखेपले ती ‘झोले कार्यकर्ता’हरूलाई मासिक २० हजार रुपैयाँसम्म दिएको दाबी गरिन्छ । यसरी अवैतनिक भन्दै नियुक्ति लिएर मासिक २० हजार रकम बुझ्नेमा शालिग्राम खड्कालगायत रहेका स्रोतको दाबी छ । उनी जस्ता कतिले यसरी अवैतनिक नियुक्ति लिई पशुपतिनाथको सदाब्रतगुठीको हण्डी खाए झैँ खेलकुदबाट भत्ता बुझिरहेका छन्, खोजीको विषय बनेको छ ।