विद्युतीय मतदान मेशिनको संसदमा परीक्षण

विद्युतीय मतदान मेशिनको संसदमा परीक्षण


भारतको निर्वाचन आयोगले प्रयोगमा ल्याएको ईभीएम तथा बेलायतस्थित स्मार्टम्याटिक कम्पनीले उत्पादन गरेको विद्युतीय मेशिनको मंगलबार ब्यवस्थापिका संसदमा परीक्षण गरिएको छ ।

निर्वाचन आयोगका आयुक्त डा.अयोधीप्रसाद यादवसहित आयोग पदाधिकारीको उपस्थितिमा संसदमा दुवै मेशिनको प्रयोगबारे सांसदहरुलाई जानकारी दिइएको थियो ।

निर्वाचन आयोगले प्राविधिक सहितको एक अध्ययन टोलीलाई हालै भारतमा उत्पादन र प्रयोग भएका विद्युतीय मतदान यन्त्र अध्ययन गर्न पठाएको थियो ।

अध्ययन टोलीको प्रतिवेदनको आधारमा मतदानमा ईभीएमको प्रयोग गर्न उपयुक्त हुने भन्दै आयोगले मंगलबार व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल समेतका प्रतिनिधिहरूसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।

२०६४ सालको संविधानसभा सदस्यको निर्वाचनपछिको उपनिर्वाचनमा र २०७० सालको संविधानसभा सदस्य निर्वाचनपछिको उपनिर्वाचनमा गरी १२ वटा निर्वाचन क्षेत्रमा विद्युतीय मतदान यन्त्रको प्रयोग गरिसकेको र सो प्रयोग सम्बन्धमा सबै सरोकारवालाबाट सकारात्मक धारणा रहेको पाइएको आयोगले जनाएको छ ।

सांसदहरुले ती मेशिनबाट नमूना मतदानको अभ्यास समेत गरेका थिए । सो कार्यक्रममा प्रमुख राजनीतिक दल लगायत २३ भन्दा बढी राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति थियो ।