‘मेरो कार्यकालमा सबै पत्रकारहरुले पारिश्रमिक पाउँछन्’

‘मेरो कार्यकालमा सबै पत्रकारहरुले पारिश्रमिक पाउँछन्’


सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले आफ्नै कार्यकालमा सबै पत्रकारले पारिश्रमिक पाउने प्रतिबद्धता जनाएका छन् । उनले श्रमजीवी पत्रकार तथा सञ्चारकर्मीको भौतिक र पेशागत सुरक्षाका लागि सरकार प्रतिबद्ध भएकाले कानूनमा तोकिए बमोजिम पत्रकारको सुविधा उपलब्ध हुनुपर्ने उल्लेख गरे ।

प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकैपटक गर्ने कुरा सरकारको आधिकारिक निर्णय नभएको स्पष्ट पारेका छन् । रिपोटर्स क्लवको साक्षात्कारमा मन्त्री बस्नेतले श्रमजीवी पत्रकारको पेशागत सुरक्षाका सम्बन्धमा निजी क्षेत्रका सञ्चारगृहसँग आफूले छलफल गर्ने बताए ।

उनले कुनैपनि देश सफल हुनुमा मिडियासँगको सहकार्य नै महत्वपूर्ण भएको बताउँदै सञ्चारकर्मीहरुसँग सहकार्य गर्न आफूहरु सधैं तयार रहेको बताए । मन्त्री बस्नेतले लोकतान्त्रिक मुलुक र आधुनिक विश्वमा पत्रकारले पाउनुपर्ने सुविधा नपाउने विषय दुःखद् भएकाले यसमा सञ्चारसम्बन्धी संस्थासँगको सहकार्यका लागि आफूले पहल गर्ने विश्वास व्यक्त गरे ।

दुवै निर्वाचन एकै चरणमा नहुने 

सञ्चारमन्त्री बस्नेतले सरकारले दुवै निर्वाचन एकै चरणमा गर्ने भनेर बाहिर कुरा आएपनि त्यसमा सत्यता नभएको बताए । सरकार दुवै निर्वाचन एकै दिन गराउने भनेर कुनै निश्कर्षमा नपुगेको भन्दै मन्त्री बस्नेतले प्रधानमन्त्रीले छलफल मात्रै चलाएको उनले उल्लेख गरे ।

निर्वाचन आयोगका पदाधिकारीसहँग छलफल गर्दा प्रधानमन्त्री देउवाले यो प्रस्ताव गरे पनि आधिकारिक रुपमा कुनै निर्णय नभएको उनले स्पष्ट गरे । मन्त्री बस्नेतले दुवै निर्वाचन एकै दिन गर्नको लागि दलहरुवीच सहमति भएपछि एउटा निश्कर्षमा पुगिने बताए ।