भुटानी शरणार्थीको कथामा ‘देश खोज्दै जाँदा’

भुटानी शरणार्थीको कथामा ‘देश खोज्दै जाँदा’


नेपालमा दुई दशकदेखि शरणार्थी जीवन बिताइरहेका भुटानी शरणार्थीको शिविर बसाइको वास्तविक कथा प्रस्तुत गरिएको फिल्म ‘देश खोज्दै जाँदा’ आगामी भदौ ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । भुटानी शरणार्थीहरूले गरेको आन्दोलन, तिनले भोगेको दुःख–कष्ट र उनीहरूले नेपाललाई छोडेर तेस्रो मुलुक जानुपर्दाको पीडालाई देखाइएको फिल्मको निर्देशन प्रकाश आङदेम्बेले गरेका हुन् ।

हालै राजधानीमा आयोजित एक कार्यक्रमबीच फिल्मको नयाँ ट्रेलर देखाउँदै निर्देशक आङदेम्बेले फिल्ममा भुटानी शरणार्थीको मौलिक, रहस्यात्मक र पारिवारिक जीवनका आन्तरिक तथा बाह्य द्वन्द्वलाई मार्मिक ढङ्गले उजागर गरिएको अभिव्यक्तिसमेत दिए ।

सोही अवसरमा फिल्मका नायक तथा गायक बाबु बोगटीले ‘देश खोज्दै जाँदा’ले आफ्नो करिअरमा महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे । फाइनआर्टसँग आबद्ध निर्वासित भुटानीहरूको संस्था इफकेन्स इन्टरनेसनल फाउन्डेसन, इफाका भुटान, लाइन क्रस मुभिज र गन्तव्य थिएटरको संयुक्त ब्यानरमा निर्मित उक्त फिल्ममा बाबु बोगटी, हेमन्त बुढाथोकी, मीना कोइराला, अरुणा कार्की, सरिता वली, तिब्बत राई, एलपी जोशी, शिवशंकर थापा, केशव आचार्य, टंक विकल्प, सुवास थापा र प्रताप सुब्बाको अभिनय देख्न पाइन्छ ।