आरजुका लागि यसरी खुल्यो बर्दियाको ढोका

आरजुका लागि यसरी खुल्यो बर्दियाको ढोका


प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवम् नेपाली कांग्रेसबाट समानुपातिक सांसद आरजु राणा देउवाले आफ्नो राजनीतिक कर्मक्षेत्र बर्दियालाई बनाउन लाग्नुभएको जानकारी घटना र विचारलाई प्राप्त भएको छ । पहिले डडेल्धुरामा केन्द्रित आरजुको ध्यान पछिल्लो समय बर्दियातर्फ मोडिएको छ र बर्दियालाई आफ्नो निर्वाचन क्षेत्र बनाउन जग राख्ने कार्यको आरम्भ भएको छ ।

जानकारीअनुसार आफ्नी माता एवम् राप्रपा नेतृ प्रतिभा राणालाई जापानका लागि राजदूत नियुक्त गरेर पठाउनु र बर्दिया कांग्रेसका नेता सञ्जय गौतमलाई सिँचाइमन्त्री बनाउनुको मूल कारण आरजु देउवाका लागि बर्दियाको ढोका खोल्नु भएको बताइन्छ । प्रतिभा राणाले बर्दियालाई आफ्नो निर्वाचन क्षेत्र बनाउँदै आउनुभएकोमा उहाँ राजदूत बनेर जानुभएपछि अब चार वर्षसम्म सक्रिय राजनीतिमा फर्कने सम्भावना क्षीण भएको छ । राप्रपाको कोटामा पारेर प्रतिभालाई जापानको राजदूत बनाइएको भए पनि उहाँलाई राजदूत बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा र आरजु देउवाको मुख्य भूमिका रहेको थियो ।

त्यस्तै, बर्दिया काङ्गे्रसका सभापतिसमेत रहनुभएका प्रतिभाशाली युवा नेता सञ्जय गौतमलाई मन्त्री बनाउन पनि आरजु र प्रधानमन्त्री देउवाकै मुख्य योगदान भएको बुझिन्छ । गौतम आफैँ त्यस क्षेत्रमा लोकप्रिय एवम् क्षमतावान नेता मानिनुहुन्छ र मन्त्री बन्न योग्य व्यक्तिका रूपमा पनि उहाँलाई लिइन्छ । तर, गौतमलाई काङ्गे्रस महामन्त्री शशाङ्क कोइरालाको कोटाबाट मन्त्रिमण्डलमा सामेल गरिएको छ । यद्यपि कोइरालाको कोटामा बनाइएको भए पनि प्रधानमन्त्री देउवा र आरजु देउवाको समेत इच्छाबाट गौतम मन्त्री बन्नुभएको हो ।

यसरी गौतमलाई मन्त्री बनाइएपछि भोलिका दिनमा राजनीतिमा आरजुलाई सजिलो हुने विश्वास गरिएको छ । बर्दियाका अर्का काङ्ग्रेस नेता किशोरसिंह राठौरलाई देउवा परिवारको निकटस्थ व्यक्तिका रूपमा लिइन्छ । राठौर यसअघि बर्दियाबाट टिकट पाएर पनि उनले पराजय व्यहोर्नुपरेको थियो र राठौरलाई अपाङ्गको कोटामा पारेर समानुपातिकतर्फको सांसद बनाइने विश्वास दिलाइएको जानकारीमा आएको छ ।

यसअघि चारवटा निर्वाचन क्षेत्र रहेको बर्दियामा नयाँ संरचना बनाइँदा तीनवटा मात्र क्षेत्र बन्ने सम्भावना छ । तीन निर्वाचन क्षेत्र भएमा एउटामा सञ्जय गौतम स्वयम् उम्मेदवार बन्ने निश्चित छ । अर्को एक क्षेत्रबाट अब आरजु राणा देउवाले उम्मेदवारी दिने पनि निश्चितप्रायः छ । बाँकी एक क्षेत्रमा दाबेदारहरू धेरै भएकोले कसले मौका पाउने हो अहिले नै भन्न सकिने स्थिति छैन । तात्कालिक परिस्थिति हेरेर उपयुक्त व्यक्तिलाई उम्मेदवार बनाउने अनुमान गर्न सकिन्छ । यसअघि उम्मेदवार बनाइएकी मालती सोडारीको पक्षमा जिल्ला पार्टी सभापतिसमेत रहनुभएका मन्त्री सञ्जय गौतम हुनुहुन्छ । गौतमको चल्यो भने मालती नै पुनः उम्मेदवार बन्ने निश्चित मानिन्छ । जे होस्, बर्दिया अब आरजु देउवाको ‘कर्मभूमि’ हुने सम्भावना बढेको छ । उहाँ त्यहाँबाट विजयी बन्न सक्नुभएमा प्रधानमन्त्री देउवाको उत्तराधिकारी बन्ने मार्ग प्रशस्त हुने ठानिएको छ ।