मुद्दा एउटै ‘न्याय’ फरक–फरक !

मुद्दा एउटै ‘न्याय’ फरक–फरक !


एकै प्रकृतिको मुद्दामा फरक–फरक व्यवहार गरिएपछि उच्च अदालत पाटनबाट भएको एउटा निर्णयलाई लिएर विभिन्न टीका–टिप्पणी सुरु भएको छ । जिल्ला अदालतले दोषी ठहर्‍याएर थुनामा पठाएको श्यामकृष्ण श्रेष्ठ, श्रीनारायण यादव र राजकुमार ढकालमध्ये श्यामकृष्ण श्रेष्ठलाई धरौटीमा रिहा गरेर श्रीनारायण यादव र राजकुमार ढकाललाई थुनामा राख्ने आदेश दिइएपछि निर्णयलाई लिएर टीका–टिप्पणी सुरु भएको हो । ०७३ साल पुस २१ गते त्रिभुवन विमानस्थलनजिकै बरामद भएको ३३ केजी सुन काण्डका दोषीमाथि उच्च अदालत पाटनले यसप्रकारको निर्णय गरेको हो ।

विमानस्थल भन्सार कार्यालयका श्यामकृष्ण श्रेष्ठ पटक–पटक अवैध ढङ्गले सुन भित्र्याउने कार्यमा संलग्न भएको कुरा सो आरोपमा पक्राउ परेका सबैले उल्लेख गरेका छन् । श्यामकृष्ण स्वयम्ले पनि यथार्थ व्यहोरा स्वीकार गरी बयान दिइसकेका छन् । बयानका क्रममा उनले आफ्नो आइफोन मोबाइल हनुमन्ते खोलामा फालेकोसमेत बताएका थिए । तर, यही साउन १२ गते उच्च अदालत पाटनका न्यायाधीश बलभद्र बास्तोला र न्यायाधीश भीमकुमार ओझाको बेन्चले एसएसपी श्याम खत्रीसँग जमानत माग्ने कार्यलाई गलत भन्दै साधारण तारेखमा राख्ने र श्यामकृष्ण श्रेष्ठलाई धरौटीमा थुनामुक्त गर्ने आदेश दियो । एउटै र उस्तै मुद्दामा परेका श्रीनारायण यादव र राजकुमार ढकाललाई भने थुनामा राख्ने आदेश दिइएको छ । ढकाल र यादव दुवै एयरपोर्टमा एक्स रे मेसिन चेक गर्ने ठाउँमा काम गर्थे । यी दुवैले श्यामकृष्णसँगको मिलेमतोमा काम गरेको बयान दिएका छन् ।

एयरपोर्टबाट वर्षौँदेखि सुन तस्करी भइरहे पनि यसरी ठूलो परिमाणमा सुन बरामद भएको थिएन । यो घटनालाई सीआईबीले सङ्गठित अपराध मानेर अनुसन्धान सुरु गरेको थियो । एयरपोर्टमा भन्सारका प्राविधिक कर्मचारीहरू श्यामकृष्ण श्रेष्ठ, राजकुमार ढकाल र श्रीनारायण ढकाल मिलेर प्रहरीसँग सेटिङ मिलाई सुन पास गर्दै आएका थिए । यो मुद्दामा न्यायाधीशद्वय बलभद्र बास्तोला र भीमकुमार ओझाको निर्णयलाई आश्चर्यजनक मानिएको छ । न्यायाधीश बलभद्र जिल्ला अदालत धनुषामा रहँदा जाजरकोटदेखि जलेश्वरसम्मका ‘मुद्दा हेर्ने’ व्यक्तिका रूपमा चर्चित हुनुहुन्थ्यो ।