भरतपुर १९ निषेधित क्षेत्र घोषित

भरतपुर १९ निषेधित क्षेत्र घोषित


चितवनको भरतपुर महनगरपालिका वडा नं १९ मा भोली साउन २० मा हुन लागेको पुनःमतदानको तयारी तीव्र पारिएको छ । निर्वाचन आयोगले पुनर्मतदानको लागि मतदान अधिकृतसहित ३६ जना कर्मचारी खटाएको बताइएको छ ।

सो चुनावका लागि खटिएका सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेका अनुसार वर्षाले प्रभावित हुनसक्ने भएकाले मतदानस्थलमा पानी नपस्ने टेण्टको व्यवस्था गरिएको छ भने मतदानस्थलको १०० मिटर वरपर निषेधित क्षेत्रसमेत घोषणा गरिएको छ ।

आवश्यक तयारीका लागि सजिलो होस् भनेर निषेधित क्षेत्र गरिएको आयोग कर्मचारीको भनाई छ । निर्वाचनका लागि भरतपुर १९ मा बुधबारदेखि नै मौनअवधी शुरु गरिएको थियो । विहिबार नै हरेक मतदान स्थलमा मतपत्र पु¥याइने सम्बद्ध निर्वाचन अधिकारीले जनाएको छन् ।

भरतपुर–१९ मा तीनवटा मतदानस्थलमा ६ वटा मतदान केन्द्र रहेको छ । किरण मावि, किरणगञ्ज मतदानस्थलमा एक हजार २४८, जीवनज्योति स्कुल गुञ्जानगरमा एक हजार ३०६ र शारदानगर माविमा एक हजार २४३ गरी कुल तीन हजार ७९७ मतदाता छन् । जेठ १४ गते राति गणनाका क्रममा मतपत्र च्यातिएपछि विवादित बनेर मुद्दा परेको भरतपुर–१९ को विषयमा सर्वोच्च अदालतले शनिबार निर्वाचन आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएपछि शुक्रबार निर्वाचन हुन लागेको हो ।