योजना आयोग उपाध्यक्षमा डा. स्वर्णिम

योजना आयोग उपाध्यक्षमा डा. स्वर्णिम


राष्ट्रिय योजना आयोगको रिक्त उपाध्यक्ष पदमा डा. स्वर्णीम वाग्लेलाई नियुक्त गरिएको छ । आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले राजीनामा दिएपछि केही दिनदेखि सो पद रिक्त रहेको थियो । यसअघि पनि दुई पटक आयोगका सदस्य रहिसकेका डा. वाग्लेलाई मन्त्रिपरिषद्को आजको बैठकले उपाध्यक्ष नियुक्त गरेको हो ।

क्याबिनेट बैठकका निर्णयबारे जानकारी दिँदै सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षकमा ११ जना बढुवा गरिएको जानकारी दिए । बढुवा भएका प्रहरी नायव महानिरीक्षकहरुमा बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्टराई छन् ।

यस्तै मन्त्रिपरिषद् बैठकले अमेरिकी सरकारी निकाय ुमिलेनियम च्यालेन्ज कर्पोरेशनुबाट सडक यातायात र विद्युत् प्रशारणसम्बन्धी कार्यका लागि प्राप्त हुने रु ५१ अर्ब ३८ करोड सहायता रकम स्वीकार गर्ने निर्णय गरेको मन्त्री बस्नेतले जानकारी दिए ।