तलेजु भवानीको मन्दिर भत्क्यो

तलेजु भवानीको मन्दिर भत्क्यो


नुवाकोट स्थित तलेजु भवानीको मन्दिर वर्षाले गर्दा भत्किएको छ । विदुर नगरपालिका वडा नं २ नुवाकोट दरबार क्षेत्रमा रहेको तीन सय वर्ष पुरानो धार्मिक महत्वको मन्दिरको पूर्वी भाग वर्षाको कारण भत्किएको हो ।

विसं २०७२ वैशाख १२ को भूकम्पको कारण जीर्ण बनेको मन्दिर समयमा मर्मतसम्भार नहुँदा पूर्वी पाखाबाट भत्किन थालेको हो । मल्लकालीन सो मन्दिर जीर्ण भएका कारण पछिल्लो समय प्लाष्टिकले छोपेर राखिएको थियो ।

पाँचतले मन्दिरको माथिल्लो तला भूकम्पको कारण भत्किएकाले एक तला हटाएर चार तलामा प्लाष्टिकले छोपेर राखिएको थियो । अहिले प्लाष्टिक पनि च्यातिएर पानी पसेपछि मन्दिर भत्किन थालेको हो । चार वर्षअघि चट्याङका कारण मन्दिरको गजुर भत्किएको थियो ।

भूकम्पका कारण झनै जीर्ण मन्दिरलाई बेलैमा जीर्णोद्धार गर्न ध्यान नपुग्दा जगैसम्म भत्कने अवस्थामा पुगेको नुवाकोट दरबार क्षेत्रका द्वारे महेन्द्रकुमार शाहीले बताउनुभयो । मन्दिरको मर्मतका लागि पुरातत्व विभागलाई पटक पटक भन्दा पनि चासो नदिइएका कारण मन्दिर भत्किएको नुवाकोट सम्पदा संरक्षण मञ्चका अध्यक्ष पुष्कर शर्मा रिमालले बताउनुभयो ।

रासस