खेलकुदमा ‘सङ्घ’ बढ्दा कुलत घट्ने !

खेलकुदमा ‘सङ्घ’ बढ्दा कुलत घट्ने !


राष्ट्रिय खेलकुद परिषदमा थुप्रै राष्ट्रिय सङ्घ दर्ता भएको र खेलकुदलाई म्यानपावर कम्पनीको रूपमा विकास गरिएकोमा व्यापक आलोचना भइरहेको अवस्थामा सदस्यसचिव केशवकुमार विष्टले धेरै खेल सङ्घ दर्ता भएर फरक नपर्ने बताएका छन् । हालै सेमिनार तथा डान ग्रेडिङ परीक्षाको उद्घाटन गर्दै सदस्यसचिव विष्टले भने, ‘परिषदमा धेरै खेल सङ्घ दर्ता भएर केही फरक पर्दैन । हामीले बुझ्नुपर्ने यति मात्र हो– कुन खेललाई कति प्राथमिकता र अनुदान दिने ? दर्ता भएका सबै सङ्घका खेलाडी हुन्छन् । कम्तीमा ती खेलाडी खेलमा इन्गेज भएपछि कुलत र गलत सङ्गतमा फस्दैनन् । अनुशासनमा बस्छन् र राष्ट्रका लागि पदक पनि ल्याउँछन् । त्यसैले मलाई लाग्छ धेरै खेल सङ्घ दर्ता गरेर केही फरक पर्दैन ।’

नेपाल सिन–क्योकुसिन कराते सङ्घले आयोजना गरेको एकदिने कार्यक्रममा ६५ जनाले सहभागिता जनाएका थिए । जसमा पोखराबाट १०, पर्सा र चितवनबाट २–२, वीरगञ्जबाट ५ तथा मकवानपुरबाट ८ सहभागी थिए । बाँकी काठमाडौंबाट रहेको आयोजकले जनाएको छ । डब्ल्यूकेओ सिन–क्योकुसिन काई करातेका एसियाली प्रमुख छैटौँ डान जेबी सुजुतोले सेमिनार सञ्चालन गरेका थिए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सुजुतोले आयोजक सङ्घका महासचिव सूर्यबहादुर बुढाथोकीलाई नेपालको ब्रान्च चिफमा चयन गरिएको जानकारी गराए । सो अवसरमा आयोजक सङ्घका संस्थापक अध्यक्ष स्व. लक्ष्मणकुमार श्रेष्ठको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो ।

राखेपले ‘स्पोर्टस् बस’ सञ्चालन गर्ने

मिसन सागदेखि ओलम्पिक परियोजनाअन्तर्गत राष्ट्रिय टिम तयारीमा रहेका विभिन्न खेलका खेलाडी र प्रशिक्षकलाई हालै खेल पोसाक वितरण गरियो । राष्ट्रिय टिम तयारीका विभिन्न १४ खेलका दुई सय ८६ खेलाडी र ६० प्रशिक्षक गरी जम्मा तीन सय ४६ लाई ट्रयाकसुट र क्याप वितरण गरिएको थियो ।
हाल एथलेटिक्स, उसु, कराते, तेक्वान्दो, जुडो, बक्सिङ, भारोत्तोलन, आर्चरी, कुस्ती, सुटिङ, ब्याडमिन्टन, टेबलटेनिस, पौडी र ट्रायथलनका खेलाडी राष्ट्रिय टिम तयारीमा छन् । पछिल्लोपटक राष्ट्रिय टिम तयारी गत फागुन २६ गतेदेखि सुरु भएको थियो । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा, सदस्यसचिव केशवकुमार विष्ट, सदस्यहरू उपेन्द्र पौडल र अर्जुनबहादुर केसीलगायतले खेलाडीलाई एक कार्यक्रमबीच सामग्री हस्तान्तरण गरे ।
सदस्यसचिव विष्टले खेलाडीको प्रशिक्षणका विषयमा बुझ्ने उद्देश्यले खेलाडीलाई भेला गराएर सामग्री हस्तान्तरण गरेको बताउँदै राष्ट्रिय टिमका खेलाडीको सुविधाका लागि परिषद्ले स्पोर्टस् बस सञ्चालन गर्ने तयारी गरेको बताए । उनले मङ्सिरमा च्याम्पियनसिप आयोजना गरी उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विशेष प्रशिक्षणमा राखिने बताए ।