एकतर्फी बाटो खुले पनि सचेत रहन आग्रह

एकतर्फी बाटो खुले पनि सचेत रहन आग्रह


पुर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा एकतर्फी रुपमा बाटो सञ्चालनमा आएको छ । गएराती १० बजे पहिरो खसेपछि ठप्प भएको सवारी आवागमन ११ घण्टापछि एकतर्फी सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ । दाउन्ने पहाडको दुई छुट्टाछुट्टैं स्थानमा पहिरो खस्दा सवारी आवागमन रोकिएको थियो ।

विहानदेखि डोजरको सहायताले पहिरो पन्छाएपछि विहान ९ बजे देखि एकतर्फी बाटो संचालनमा आएको हो । एकतर्फी बाटो सञ्चालनमा आए पनि वर्षा जारी रहेकोले जोखिम कम नभएको प्रहरीको भनाई छ ।

अविरल वर्षासँगै पहिरो खसेर बाटो अवरुद्ध बनेपछि सयौं सवारी साधन र यात्रुहरु बीच बाटोमै अलपत्र परेका थिए । एकतर्फी बाटो सञ्चालनमा आएपछि यात्रुहरु विस्तारै गन्तव्यतर्फ लाग्न थालेका न् । गएराती नै पहिरो हटाएर बाटो खुलाउने प्रयास भए पनि पहिरो खस्न नरोकिएको र रातको समय भएकाले त्यो सम्भव नभएको प्रहरी प्रमुख राजेन्द्र चौधरीले बताउनुभयो ।

सचेत रहन आग्रह

जिल्ला प्रशाशन कार्यालय नवलपरासीले निरन्तर वर्षा भईरहेको र नदी तथा खोलाहरुमा पानीको सतह बढ्ने क्रममा रहेकाले तटिय क्षेत्रका नागरिकहरुलाई सचेत रहन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बाढीको त्रास रहेकाले सचेत रहन र अग्लो स्थानमा गएर बस्न सबैलाई सचेत गराइएको जानकारी दिनुभयो । प्रजिअ रानाका अनुसार बाढीले नवलपरासीको प्रतापपुर, सुस्ता, भुजहवालगायतका स्थानमा केही घरहरु डुबानमा परेका छन् । ती क्षेत्रका मानिसहलाई सुरक्षित स्थानतर्फ सारिसकिएको रानाले बताउनुभयो । अहिलेसम्म कुनैं मानवीय क्षति नभएको उहाँको भनाई छ ।