बागलुङमा विपत्ति : एकै घरका ४ सहित ६ को मृत्यु

बागलुङमा विपत्ति : एकै घरका ४ सहित ६ को मृत्यु


पश्चिम बागलुङमा छुट्टाछुट्टै ३ पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ६ पुगेको छ । घटनामा ६८ वर्षीय मनिमान छन्त्याल, उनकी श्रीमती ६३ वर्षीय नन्दकली छन्त्याल, बुहारी २२ वर्षकी बिन्दु छन्त्याल र छोरी १८ वर्षीय गीता छन्त्यालको मृत्यु भएको हो ।

निसीखोला गाउँपालिकाको दुई ठाउँमा गएको पहिरोमा एकै परिवारका ४ सहित ५ जनाको मृत्यु भएको हो । ढोरपाटन नगरपालिकामा एकजनाको ज्यान गएको छ । निसीखोला गाउँपालिका-२ बाहुनगाउँमा घर पुरिँदा बेपत्ता भएका एकै घरका ४ जनाको शव फेला परेको घटनास्थलबाट प्रहरी नायक निरीक्षक नारायण शर्माले जानकारी दिए ।

घटनामा एकैघरका ४ जनाको मृत्यु भएपछि आफन्त र सिंगो बाहुनगाउँ शोकमा डुबेको छ। ढोरपाटन नगरपालिका–५ अधिकारीचौरका ओमबहादुर विकको आफ्नै घरपछाडिबाट खसेको पहिरोमा पुरिएर मृत्यु भएको हो । विक पहिरो झरिरहेका बेला सामान निकाल्न खोज्दा पुरिएका बागलुङ प्रहरीका प्रवक्ता प्रहरी नायक उपरीक्षक (डिएसपी) अनिल खड्काले जानकारी दिए । उनका श्रीमती र छोरीलाई उद्धार गरिएकोमा छोरा सामान्य घाइते भएको प्रहरीको भनाइ छ ।

त्यस्तै, निसीखोला गाउँपालिका–१ हुल्दीमा पहिरोमा पुरिएर ७६ वर्षीय खगिसरा सिञ्जालीको ज्यान गएको छ । उनको पनि शव भेटिएको प्रहरी नायव निरीक्षक नारायण शर्माले जानकारी दिए। हुल्दीका १ सय ५० घर पहिरोको उच्च जोखिममा परेपछि त्यहाँका वासिन्दा सुरक्षित स्थानको खोजीमा जंगलतर्फ लागेका छन्। त्यहाँ अहिले पनि पहिरो झरिरहेको छ । पहिरोमा ज्यान जानेहरुको शव संकलन गरेर पोष्टमार्टम गर्ने तयारी भएको उनले जानकारी दिए। पोष्टमार्टमका लागि घटनास्थलमै डाक्टर बोलाइएको छ ।

सडक पूरै अवरुद्ध भएकाले घटनास्थलबाट शव लैजान कठिनाइ भएपछि प्राथमिक स्वास्थ्यकेन्द्र बुर्तीबाङबाट डाक्टर बोलाइएको हो। पहिरोले निसीखोलाका एक दर्जन बढी घर भत्किएका निसीखोला गाउँपालिका–१ का अध्यक्ष इन्द्र मल्लले जानकारी दिए। देविस्थान बजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रसमेत जोखिममा रहेको उनले बताए। हुल्दी गाउँका १ सय ५० घर विस्थापित माथिबाट पहिरो झरेर पूरै बस्ती नै जोखिममा परेपछि निसीखोला गाउँपालिका–१ हुल्दीका १ सय ५० घर विस्थापित भएका छन् ।

उनीहरु घर छाडेर जंगलतर्फ लागेका घटनास्थल पुगेका पत्रकार डम्मर बुढा मगरले जानकारी दिए। ‘पूरै गाउँ पहिरोको जोखिममा छ, म घटनास्थलमै छु’, पत्रकार बुढाले भने, ‘पहिरो अहिले पनि झरिरहेको छ ।’ त्यहाँ साना ठूला गरी तीन दर्जन बढी पहिरो गएको उनको भनाइ छ । पहिरोमा बगेर दर्जनौं पशुचौपाय मरेका छन् । पूरै बस्तीमा पहिरोको त्रास बढेपछि स्थानीय अन्नपात, लत्ता कपडा र पशु चौपाय लिएर दह भन्ने लेकतिर लागेका छन् । पहिरोले मध्यपहाडी लोकमार्गको बुर्तिबाङ रुकुम सडक खण्ड अवरुद्ध बनेको छ ।