बीपीको आदर्श र काङ्ग्रेस

बीपीको आदर्श र काङ्ग्रेस


पाँच वर्षपछि हुन लागेको महाधिवेशनको चटारोमा परेर हुनसक्छ, नेपाली काङ्ग्रेस पार्टी तथा काङ्ग्रेसजनले यो वर्ष बीपीजयन्ती मनाउने फुर्सद खासै निकाल्न नसकिरहेको अनुभूति गरिँदै छ । बीपीको जन्मजयन्ती मनाउने ँऔपचारिकता’ निर्वाहमा काङ्ग्रेसले कुनै कसर बाँकी नराख्ने गरेको परम्परा छ । परम्पराअनुसार बीपीको व्यक्तित्व, सङ्घर्षपूर्ण जीवन र योगदानमाथि यतिखेर अनेक चर्चा-परिचर्चा र बहस भइरहेको हुनुपथ्र्यो, जन्मजयन्ती मनाउने तयारीको तामझाम केन्द्रदेखि स्थानीय तहसम्म चलेको देखिन्थ्यो । कलम चलाउन हम्मेसी जाँगर नचलाउने काङ्ग्रेसजन या आफूलाई बीपीका अनुयायी ठान्नेहरूसमेत आफूलाई खाँटी ‘बीपीवादी-समाजवादी’ दर्शाउन अखबारका पानामा छाउने कोसिस गरिरहेका हुन्थे । हरेक वर्ष भदौ २४ को आसपास यस्तै आभास हुन्थ्यो । यसपटक परम्परामा थोरै ‘ब्रेक’ लागेझैं भएको छ । बीपीकै बल-बरकत एवम् व्यक्तित्वको जगमा ठडिएको र आजको परिवेशमा पनि मुलुकमा आफ्नो उपस्थिति वा महत्त्व जताउन जुन सक्षमता काङ्ग्रेस दर्शाइरहेछ- कता-कता उनै ‘जादुमयी’ व्यक्तित्वसँग जोडिएको अमिट नाताकै कारण सम्भव भइरहेको हो भन्ने विश्वास गरिन्छ । विश्वस्तरमा जान-पहिचान भएको/पत्याइएको र मुलुककै पुरानो प्रजातान्त्रिक-समाजवादी राजनीतिक दल हुनुको नाता एवम् पार्टीमा ँअकाट्य अभिभावकीय व्यक्तित्व’का रूपमा रहेका गिरिजाप्रसाद कोइरालारहितको परिवेशमा महाधिवेशनजस्तो महत्त्वपूर्ण कर्म सम्पन्न गर्न होमिएको काङ्ग्रेसका निम्ति यसपटकको महाधिवेशन अनेक कोणबाट महत्त्वशाली हुन पुगेको छ, जसले गर्दा काङ्ग्रेस कार्यकर्ताहरू चटारोमा परेका छन् । मूलतः यसैका कारण बीपीको जन्मजयन्ती मनाउने कार्य औपचारिक कार्यक्रमका कसीमा फिक्का बन्न लागेझैँ आभास गरिए पनि बीपी बिरि्सइसकेका छैनन् र कदापि बिर्सन सकिने पात्र पनि होइनन् ।
त्यसो त ँप्रजातन्त्र र समाजवाद’ थियो बीपीको मूल सिद्धान्त । जीवनभर ँराजा’लाई प्रजातान्त्रिक बनाउन खोज्दा राजा या राजतन्त्रसँग उनको घनघोर टक्कर परिरह्यो । ँराणा’को स्थान ँराजा’लाई दिएर काङ्ग्रेसले गरेको भूलको परिणति बीपीले जीवनभर भोग्नुपरेको तर्क पनि प्रशस्तै गरिए । तिनै बीपी कालान्तरमा राजासँग घाँटी जोड्न तयार रहेको भनी एक कोणबाट आलोचित पनि तुल्याइए । मेलमिलापको नीति लिएर हिन्दुस्तानबाट स्वदेश र्फकनुको मर्म बुझ्न नसक्ने कतिपयले उनको दृढ राजनीतिक इच्छाशक्तिमाथि नै शिखण्डीझैं लुकेर प्रहार गर्ने धृष्टतासमेत नगरेका होइनन् । तर, प्रजातन्त्रको लडाइँमा जस्तोसुकै विपरीत अवस्था र विपत्तिमा पनि रत्तिभर विचलित भएनन् बीपी, किनकि, बीपी आखिर बीपी नै थिए । आफ्नो गन्तव्यप्रति स्पष्ट, दृढ र दूरदर्शी उनी किन दायाँबायाँ हुन्थे र † लोकतन्त्र र समाजवादसँगको अटुट नातालाई अमर तुल्याउँदै बीपीले भौतिक शरीर त्यागेकै आज २८ वर्ष भयो ।
यसरी महामानवका रूपमा स्वीकारिएका दूरदर्शी राजनीतिज्ञ विश्वेश्वरप्रसाद कोइरालाको ँकाङ्ग्रेस’ आज फेरिएको छ । ँलोकतान्त्रिक सिद्धान्त’को फेरो समाउन नछोडे पनि आज काङ्ग्रेस ँगणतन्त्रवादी’ बनेको छ । आफ्नै चाहना र कसरतबाट भन्दा पनि समयको छाल या अरू-अरूकै जोडबलले काङ्ग्रेसलाई अन्य कित्तामा हुत्याइदिएको धारणा मुखरित भइरहेको परिवेशले काङ्ग्रेसजस्तो मौलिक सोच-सिद्धान्तबाट अघिबढिरहेको पार्टीलाई किञ्चित ठेस पुर्‍याएको छ । यो यथार्थ स्वीकार गर्दै काङ्ग्रेसले परिवर्तित राजनीतिक परिवेश र समयसँगै बदलिएको आफ्नो भूमिका एवम् सोच-शैलीलाई आमकार्यकर्ता र जनस्तरमा स्थापित गर्न सक्नुपर्छ । चेतनाका हिसाबले जागृत जनता र अत्यन्त प्रतिस्पर्धात्मक राजनीतिक परिवेशमा आफ्नो वर्चश्व जोगाउँदै अघिबढ्ने कार्य निकै चुनौतीपूर्ण छ । औपचारिक कार्यक्रमका माध्यमबाट आस्थाका नायक बीपीप्रति सम्मान-भक्ति दर्शाउन परिस्थितिवश चुके पनि नेपाली काङ्ग्रेसले बीपीबाट ग्रहण गर्नुपर्ने कुरा धेरै छन् । बीपीलाई आदर्श मान्ने अवस्थाबाट च्यूत नहुँदासम्म काङ्ग्रेसको भविष्य सङ्लै रहेको दाबी गर्न सकिन्छ । कथम् बीपीका विचारहरू बिरि्सइँदै समयको छालअनुरूप आफूलाई बगाइरहने हो भनेचाहिँ के हुने हो, अनुमान गर्न कठिन छ ।