विधान संशोधनकालागि समूह गठन

विधान संशोधनकालागि समूह गठन


नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन (अनेरास्ववियु क्रान्तिकारी) को २१औँं राष्ट्रिय सम्मेलनअन्तर्गत विधान संशोधनका लागि विभिन्न २१ समूह गठन गरी छलफल शुरु गरिएको छ । यही भदौ ७ गतेदेखि शुरु भएको सम्मेलनमा देश तथा विदेशबाट सहभागी प्रतिनिधिका धारणा लिनका लागि ती समिति गठन भएको उपाध्यक्ष मदन अर्यालले जानकारी दिनुभयो ।

कीर्तिपुरस्थित स्मृति भवनमा भइरहेको बन्दसत्रमा अहिलेको विधानलाई राम्रोसँग अध्ययन गरी समितिले मुलुकको संरचनाअनुसार अबको संगठन समायोजन, समाजवादी शिक्षा कार्यान्वयन, मुलुकको प्राकृतिक स्रोत तथा साधनमा आधारित व्यावसायिक शिक्षालगायत विषयमा सुझाव दिने छ ।

संगठनको नेतृत्वका लागि उमेरको हदबन्दी लगाउनका लागि सहभागी प्रतिनिधिबाट सुझाव आएको बताइएको छ । ‘राष्ट्रियता र समाजवादी शिक्षाको पक्षमा हाम्रो अभियान, सुदृढ संगठन निर्माणका लागि एकताको २१औँ राष्ट्रिय सम्मेलन’ भन्ने नाराका साथ गरिएको सम्मेलनमा सुझावसहित विधान परिमार्जन भएपछि अनुमोदन गरिनेछ । सम्मेलनमा दुई हजार ७६ प्रतिनिधि सहभागी छन् ।

यही भदौ ११ गते सम्पन्न हुने उक्त सम्मेलनले सकेसम्म सर्वसम्मत तथा नभए चुनावबाट नयाँ नेतृत्व छनौट गर्ने विद्यार्थी नेता माधव पाण्डेले जानकारी दिनुभयो । आजको बैठकले पुरानो कार्य समिति विघटन तथा अध्यक्ष मण्डल गठन गर्ने राससले जनाएको छ । संगठनका पूर्वअध्यक्ष रमेश मल्लको नेतृत्वमा निर्वाचन समिति गठन भइसकेको छ ।