लगानीबोर्ड र होङ्सी शिवमबीच सम्झौता

लगानीबोर्ड र होङ्सी शिवमबीच सम्झौता


नेपालमा सिमेन्ट कारखाना स्थापना गर्नका लागि लगानीबोर्ड र होङ्सी शिवम सिमेन्ट प्रालिबीच परियोजना लगानी सम्झौता भएको छ । अर्थमन्त्री तथा लगानीबोर्डका उपाध्यक्ष ज्ञानेन्द्रबहादुर कार्की तथा नेपालका लागि चिनियाँ राजदुत यू होङको उपस्थितिमा आइतबार सम्पन्न उक्त सम्झौतामा नेपाल सरकारका तर्फबाट लगानीबोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीका तर्फबाट कम्पनीका निर्देशक÷महाप्रबन्धक लाई वेईपेङले हस्ताक्षर गरेका छन् ।

सम्झौता हस्ताक्षर कार्यक्रममा अर्थमन्त्री कार्कीले लगानी सम्झौताबाट नेपालको व्यवसायिक वातावरणबारे सकारात्मक सन्देश सम्प्रेषण भएको बताए । परियोजनाको कार्यान्वयनको क्रममा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग समयमै उपलव्ध गराउने प्रतिवद्धता उनले व्यक्त गरेका छन् । “परियोजना कार्यान्वयनको लागि सरकारको तर्फबाट आवश्यक सहयोग र सहजीकरणको सुनिश्चितता दिलाउन चाहन्छुु,” अर्थमन्त्री कार्कीको भनाई उद्धृत गर्दै राससले जनाएको छ ।

परियोजना लगानी सम्झौता नेपाल सरकार र कम्पनीबीचको एक करार हो । सम्झौतामा दुबै पक्षका अधिकार र दायित्वलाई स्पष्ट पारिएको छ । सो करारअन्तगर्त नेपाल सरकारले लगानीको सुरक्षा प्रत्याभुति दिँदै कम्पनीको मनोवललाई बढाएको छ । यसले परियोजना कार्यान्वयनको लागि निश्चित समयतालिका निर्धारण गरी परियोजनाको सफलताको प्रत्याभूति गर्ने कम्पनीले जनाएको छ ।

सम्झौताअनुसार कम्पनीले नवलपरासीको सिमेन्ट कारखाना स्थापनाको लागि रु ३६ अर्ब ७५ करोड लगानी गर्नेछ । कारखानाको लागि आवश्यक खानी पाल्पाको ज्यामिरेमा रहेको छ । चीनको होङसी सिमेन्ट ग्रुपको सहायक कम्पनी हङकङ रेडलायन सिमेन्ट ३ लिमिटेडको लगानी रहेको यस परियोजनामा नेपालका विभिन्न व्यवसायीक समूह रहेको शिवम् होल्डिङको पनि लगानी रहेको छ । दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्ने सो कम्पनीले जनाएको छ । सो कम्पनीले सन् २०१८ भित्रै उत्पादन शुरु गर्ने बताइएको छ ।