मानव बेचबिखन विरुद्ध प्रहरी ‘आक्रामक’ !

मानव बेचबिखन विरुद्ध प्रहरी ‘आक्रामक’ !


पछिल्लो समय बढिरहेको मानव बेचबिखन विरुद्ध नेपाल प्रहरी आक्रामक ढंगले प्रस्तुत भएको छ ।

पछिल्लो तथ्यांकअनुसार, प्रहरीले हालैमात्र अष्ट्रेलिया पठाइदिन्छु भनी ठगी गर्ने कार्यमा संलग्न मलेशियन नागरिक ४३ वर्षीय रामादास बासकारादासलाई काठमाडौं महानगरपालिका–२६ ठमेलस्थित नर्सिङ चोकबाट महानगरीय अपराध महाशाखा टेकुको प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न विदेशी नागरिकहरुले नेपालमा आई एफपी एजुकेशन कन्सल्टेन्सी प्रालिका सञ्चालक चुन्टी लामा लगायत ११ जना नेपाली विद्यार्थीलाई सेमिनार गरी आइएलटिएस बिना अष्ट्रेलिया अध्ययनको लागि पठाइदिन्छु भनि विभिन्न प्रलोभन देखाई पटकपटक गरी जम्मा १ करोड २५ लाख रुपैयाँ ठगी गरेको संचालक चुन्टी लगायत पीडित विद्यार्थीहरुले निवेदन दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

निज रामादास, मलेसियाकै धर्मालिङ्गम र अष्ट्रेलियाका रभिन्द्र समेतका ३ जनाले चाबहिलस्थित मेडिसन होटल ट्रेनिङ सेन्टरमा कन्सलटेन्सी तथा विद्यार्थीलाई सहभागी गराएर सेमिनार गरी अष्ट्रेलियामा आफ्नै नाममा रहेको फ्युचर एकेडेमी कलेजमा अध्ययन गर्न नो आएलटिएस, नो एज बार, नो एजुकेशन ग्याप भन्दै हप्तामा १ दिन कक्षा लिँदा हुने, हप्तामा ६ दिन अन्य काम गर्दा हुने, कामको पुरै ग्यारेन्टी जस्ता कुराहरु गरी विश्वासमा लिई प्रत्येक विद्यार्थीको नेपालस्थित बैंक खाताबाट अष्ट्रेलियन नागरिक रभिन्द्रको खाता नम्बर ०१६४९९ मा रकम जम्मा गर्न लगाई अष्ट्रेलियाबाट झुठो कागजात तयार पारी ईमेलबाट सम्बन्धित विद्यार्थी तथा कन्सलटेन्सीलाई पठाएको उजुरी सम्बन्धमा अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्नमध्ये रामादासलाई नेपाल आएको अवस्थामा प्रहरीले पक्राउ गर्न सफल भएको जनाइएको छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि महाशाखाले भदौ २३ गते महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ ।

यस्तै, वैदेशिक रोजगार ठगी मुद्धाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–१ नक्शाल बस्ने ६८ वर्षीय प्रेममान डंगोललाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौं सुन्धाराबाट पक्राउ गरेको छ ।

वैदेशिक रोजगार न्यायाधिकरणको २०६७ असार ६ गतेको फैसलाले वैदेशिक रोजगार ठगीका २ वटा मुद्दामा डंगोललाई जम्मा ४ बर्ष ६ महिना कैद र ४ लाख ५० हजार रुपैयाँ जरिवाना हुने ठहर भएकोमा हालसम्म फरार रहेका थिए ।

प्रतिवादी डंगोल समेतले सिन्धुलीको कमलामाई नगरपालिका बस्ने राजकुमार घिसिङ समेत ४ जनालाई वैदेशिक रोजगारीको लागि युक्रेन लगिदिन्छु भनी २०६५ बैशाख २५ गते जनही ६ लाख रुपैया लिई थाईल्याण्डसम्म पु–याई अलपत्र छोडी वैदेशिक रोजगार ऐन २०६४ को विपरित कसूर गरेका थिए ।

उनलाई फैसला कार्यान्वयनको लागि ब्यूरोले काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार काठमाडौंमा पठाइएको छ ।

यस्तै, मानव वेचविखन तथा ओसारपसार कार्यमा संलग्न काठमाडौं महानगरपालिका–२९ लैनचौर बस्ने बाग्लुङको साविक रिघा गाबिस–८ का ३७ वर्षीय सागर श्रीसलाई काठमाडौं महानगरपालिका–२२ न्यूरोडबाट महानगरीय अपराध महाशाखाको प्रहरीले पक्राउ गरेको छ ।

सागर लगाएतका ब्यक्तिहरुले दक्षिण अफ्रिकामा वैदेशिक रोजगारीमा लगाई दिने भनि प्रलोभन देखाई रकम समेत लिई अबैध मार्ग हुँदै दक्षिण अफ्रिका पु-याई अलपत्र पारेको भन्दै पीडितले उक्त महाशाखामा निबेदन दिएपछि खटिएको प्रहरीले सागरलाई पक्राउ गरेको हो ।

निज सागर, हाल साउथ अफ्रिका बस्ने दाङको साबिक त्रिभुवन नगरपालिका–६ मसिनाका सन्तोष पौडेल र हाल भारतमा एजेन्टको काम गर्ने ऋषि घिमिरे लगायतका व्यक्तिले साउथ अफ्रिकामा महिनामा कम्तीमा ६० हजार तलव र अन्य सुविधाको जागिर पाउने र तुरुन्तै काम हुन्छ भन्दै प्रलोभनमा पारी प्रतिव्यक्ति ६÷६ लाखको दरले असुल गरी गत असार १५ गते भारतको दिल्ली, इथियोपिया, मोजाम्बिक, स्वाजिल्याण्ड हुँदै जंगलको बाटो साउथ अफ्रिकाको बोर्डरसम्म पु-याई छाडेको खुल्न आएको छ ।

उक्त बोर्डरमा साउथ अफ्रिकन सेनाले पक्राउ गरी भिषा नभई गैरकानूनी रुपमा आएको भनि १६ दिनसम्म प्रहरी हिरासत तथा साउथ अफ्रिकाको लेनदेला भन्ने ठाउँमा राखी अलपत्र पारेकोमा उक्त महाशाखा तथा साउथ अफ्रिकामा रहेको नेपाली दूतावासको सक्रियतामा पीडितहरुलाई सकुशल उद्धार गरी नेपाल ल्याएको उक्त महाशाखाले जनाएको छ ।

पक्राउ गरेका सागरलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि भदौ १९ गते महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको सो महाशाखाले जनाएको छ ।

यसरी प्रहरीले पछिल्लो समय मानवबेचबिखन विरुद्ध आफ्नो निगरानीलाई बढाएको हो । प्रहरीका अनुसार विशेष सुराकीका आधारमा प्रहरीले मानवबेचबिखनमा संलग्न व्यक्तीहरुलाई नियन्त्रणमा लिइरहेको बताइन्छ ।

-विजय दमासे