सरकारी तथ्याङकमा मूल्य घट्योः बजारमा मुल्यबृद्धि उच्च

सरकारी तथ्याङकमा मूल्य घट्योः बजारमा मुल्यबृद्धि उच्च


सरकारी तथ्याङकमा खाद्य बस्तुको मूल्य घटेको उल्लेख गरेको भएपनि यर्थातमा बजारमा भने मुल्यबृद्धि उच्च रहन गएको छ । पछिल्लो समय बजारमा तरकारी तथा खाद्य बस्तुको मूल्य उच्च रुपमा बृद्धि भई रहेको अबस्थामा भने नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङकमा बजारमुल्य घटेको उल्लेख गरेको छ । भने मुद्रास्फीति ओरालो लागेको उल्लेख गरेको छ ।

चालू आर्थिक बर्षको साउन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २ दशमलव ३ प्रतिशत झरेको जनाएको छ । यो असारभन्दा शुन्य दशमलव ४ र गत आवको सोही अवधिको तुलनामा ६ दशमलव ३ प्रतिशतले कमी हो ।  बजारमा तरकारी तथा अन्य खाद्य बस्तुको मूल्य उच्च रुपमा बढेको सम्बद्ध व्यवसायीहरु बताउँदै आएका छन् । राष्ट्र बैंकको तथ्याङक अनुसार सो अवधिमा खाद्य मुद्रास्फीति १ प्रतिशतले ऋणात्मक रहेको जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ९ दशमलव ३ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको दलहन तथा गेडागुडीको मूल्यमा २३ दशमलव ३ प्रतिशत, तरकारीको मूल्यमा ११ दशमलव ७ प्रतिशत, मसलाको मुल्यमा ३ दशमलव ५ प्रतिशत र फलफूलको मूल्यमा १ दशमलव ४ प्रतिशतले गिरावट आएको जनाएपनि यर्थातमा सो बस्तुहरुको मुल्य बजारमा अकासिएको छ । यसैगरी, राष्ट्र बैंकको समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति ४ दशमलव ९ प्रतिशत रहेको छ ।

गत वर्षको सोही अवधिमा गैर– खाद्य मुद्रास्फीति ८ दशमलव १ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको लत्ताकपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा, फर्निसिङ तथा घरायसी उपकरण लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले गैर–खाद्य मुद्रास्फीति कम रहन गएको हो । समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति हिमालमा ५ दशमलव ६ प्रतिशत, तराईमा २ दशमलव ८ प्रतिशत, पहाडमा २ दशलमव २ प्रतिशत र काठमाडौं उपत्यकामा १ दशमलव ३ प्रतिशत रहेको छ ।

नेपाल र भारतबीचको उपभोक्ता मुद्रास्फीति अन्तर २०७४ साउन महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २ दशमलव ३ प्रतिशत र भारतको ३ दशमलव ४ प्रतिशत रहेको छ । दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर १ दशमलव १ प्रतिशत रहेको छ । सो अवधिमा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क ६ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क १४ दशमलव ९ प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा अवधिमा तलब सूचकाङ्कमा १४ दशमलव ६ प्रतिशत र ज्यालादर सूचकाङ्कमा ४ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । तलब अन्तर्गत बैंक तथा वित्तीय संस्था, शिक्षा र सार्वजनिक संस्थान उप–समूहहरूको तलब सूचकाङ्क क्रमशः १० दशमलव ६ प्रतिशत, ५ दशमलव ८ प्रतिशत र ४ दशलमव ९ प्रतिशतले वृद्धि भएको छ ।
त्यसैगरी, ज्यालादर अन्तर्गत कृषि मजदूर, औद्योगिक मजदूर र निर्माण मजदूरको ज्यालादर सूचकाङ्क क्रमशः २ दशमलव ८ प्रतिशत, ८ दशमलव ९ प्रतिशत र २ दशमलव १ प्रतिशतले वृद्धि भएको छ ।